मेरो दृष्टि संवाद्दाता
स्याङ्जा , जेठ ३१
दोस्रो चरणको भेरियन्ट सहितको कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि स्याङ्जामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ र प्रशासन ऐन २०२८को दफा ६(३) को अधिकार प्रयोग गर्दै म्याद थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रसासन कार्यालय स्याङ्जाले असार ७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञाको म्याद थप गरेको हो ।
यसअघि जेठ ३१ सम्मको लागि निषेधाज्ञा तोकिएको थियो । असार ७ सम्म लागू गरिएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सवारी साधन चल्न नपाउने प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताए ।
विवाह , व्रतबन्ध लगाएतका संस्कारजन्य कार्यमा स्वास्थ्यको मापदण्ड पूरा गरेर १५ जना सम्म मात्र सहभागी भएर गनुपर्ने छ । यस्तै दैनिक उपभोग्य बस्तु खाद्यान्न तथा तरकारी फलफूलको पसल दिनमा एक पटक बिहान ५ बजेबाट ११ बजेसम्म मात्र संचालन हुने नेपालले बताए ।
स्याङ्जामा दोस्रो चरणको कोभिड—१९ संक्रमण भई मृत्यु हुनेको संख्या ९३ रहेको छ । यस्तै दुई हजार ९ सय २९ जना कुल संक्रमित मध्ये नौं सय ५० जना सक्रिय संक्रमित रहेका छन् । ।