गल्याङ नगरपालिकाका विभिन्न स्थानमा किसानहरुलाई औषधी वितरण

माधब गैेह्रे, साउन २४,वालिङ

गल्याङ–थुनेलो नियन्त्रणका लागि गल्याङ नगरपालिकाका विभिन्न स्थानमा किसानहरुलाई औषधी वितरण गरिएको छ । गल्याङ नगरपालिका पशु शाखाको आयोजनामा गाई तथा भैसी पालक किसानहरुलाई थुनेलो नियन्त्रणका लागि औषधी वितरण गरिएको हो । गल्याङ नगरपालिका वडा नम्बर १ र दुईमा गाई पालन गरिरहेका किसानहरुलाई थुनेलो नियन्त्रणको औषधी वितरण साथै पछिल्लो समय गाईमा देखिएको रोगको बारेमा सचेतना पनि जगाइएको छ । नेपालका विभिन्न स्थानहरुमा देखिएको लम्की स्किन डिजीज रोगबारे किसानहरुलाई पशु चिकित्सक तथा प्राविधिकहरुबाट जानकारी गराइएको हो । गल्याङ नगरपालिका वडा नम्बर दुई बटुवामा रहेको श्री जनकल्याण दुग्ध संकलन केन्द्रमा भएको कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले दुध उत्पादनलाई अझै बढाउन यो औषधी प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनकल्याण दुग्ध संकलन केन्द्र गल्याङ नगरपालिकाकै सबैभन्दा धेरै दुध उत्पादन गर्ने केन्द्रको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्नुभयो । पाण्डेले आगामी दिनमा नगरपालिकाबाट अझै सहयोग हुने प्रतिबद्वता जनाउनुभयो । किसानहरुलाई दुध उत्पादनमा अझै जोड दिन आग्रह गर्दै उहाँले नगरपालिका सधैं किसानको साथमा रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेले पशुमा लाग्ने रोगहरु देखिएमा नगरपालिकामा तुरुन्तै खबर गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले नेपालभर दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गल्याङमा मात्रै भएको भन्दै यसको सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले किसानलाई जुनसुकै समस्या परेमा पनि तत्काल खबर गर्न आग्रह गर्दै आफुहरु सधैं किसानको साथमा रहेको बताउनुभयो । जनकल्याण दुग्ध संकलन केन्द्रमा गएको आर्थिक वर्षमा झण्डै १६ लाख रुपैयाँ अनुदान आएको जानकारी दिदै उहाँले आगामी दिनमा अनुदान रकम अझै बढाउने गरी काम गर्न आग्रह गर्नुभयो । भैंसीमा भन्दा गाईमा थुनेलोको समस्या बढि हुने गरेको भन्दै उहाँले औषधीको सही प्रयोग गरेमा थुनेलो पूर्ण रुपमा नियन्त्रण हुने बताउनुभयो । गल्याङ नगरपालिकाका पशु चिकित्सक अनिस सापकोटाले औषधी प्रयोगको तरिकाबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले पछिल्लो समय गाईमा लम्की स्किन डिजिज रोगबारे जानकारी दिदै रोगबाट गाईलाई जोगाउने भूमिका खेल्न आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष भिम भण्डारीले नगरपालिकाको सहयोगका कारण बटुवाका किसानहरु उत्साहित हुँदै गएको बताउनुभयो । कार्यक्रममा थुनेलो नियन्त्रणका लागि तीन महिनाका लागि पुग्ने औषधी वितरण गरिएको थियो । यस्तै, वडा नम्बर एक मालुङ्गामा रहेको विन्धबासिनी पशुपालन केन्द्र तथा न्यौपाने पशुपालन फर्मलाई पनि औषधी वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.