दक्षिण पर्वतको पैंयुँ गाउँपालिकामा पनि समुदायमा कोरोना संक्रमण भेटिएन । पैंयुँ गाउँपालिकाबाट १ सय १० जनाको स्वाब संकलन गरेर परिक्षणको लागि क्षयरोग उपचार केन्द्र पोखराका प्रयोगशालामा पठाईएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको हो । सोमबार साँझ १ सय १० जनाकै रिर्पोट नेगेटीभ आएको सिसिएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो । पर्वतमा पछिल्लो समय समुदायमा कोरोना फैलिएको छ कि छैन भनेर समुदायस्तरमै पुगेर परिक्षणलाई तीब्रता दिईएको छ । पैंयुँ गाउँपालिकाका विभिन्न सरकारी कार्यालय तथा गैह्रसरकारी कार्यालय, वित्तिय संस्था, शिक्षक, सवारी चालक, होटेल तथा पसल संचालक, जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा प्रहरी गरी १ सय १० जनाको स्वाब संकलन गरिएको हो । सवैको रिपोर्ट नेगटीभ आएपछि हालसम्मलाई गाउँ सुरक्षित रहेको देखिएको छ ।
यस अघि पर्वतको बिहादी, जलजला, महाशिला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा पनि समुदायमा कोरोना छ कि छैन भनेर परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो । फलेबास नगरपालिकामा मंगलबार समुदायस्तरमा कोरोना संक्रमणको अबस्था बुझ्नका लागि श्वाब संकलन गर्ने तयारी छ । पर्वतमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । हालसम्म १ सय ८ जना संक्रमित भेटिएकोमा अधिकांस भारतवाट आएका रहेका छन् भने केहि स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको थियो । पर्वतको अस्थायी कोरोना अस्पतालमा हाल जम्मा ५ जना संक्रमित रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको प्रबक्ता भण्डारीले बताउनुभयो ।