जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरी प्रसाद पौडेललाई सम्मान गरेको छ । रचनात्म तथा उदाहरणीय कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षक पौडेललाई सम्मान गरेको हो ।
पौडेल मंसिर महिनाको उत्कृष्ठ प्रहरीको रुपमा पुलिस अफ द मन्थ घोषणा भई सम्मानित भएका हुन् । वालिङ् प्रहरीले पौडेलको नेतृत्वमा बिभिन्न मुद्धाका फरार रहेका प्रतिवादीहरु पक्राउ, अबैध घरेलु मदिरा नियन्त्रण, लागु औषध सहित मानिस पक्राउ, ओसारपोसार कार्यमा रोकथाम एबं अपराध अनुसन्धान तथा नियन्त्रण गरी सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको अनुभुति हुने गरी काम गरेको थियो ।पौडेलले समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च गराउने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले कदरपत्र सहित नगद १ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् । पौडेललाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक बोगटीले रचनात्मक तथा उदाहरणी कार्य गर्ने कर्मचारीलाई हरेक महिना सम्मान गरिने जानकारी दिए ।
उनले स्याङ्जामा नयाँ कार्यको थालनी भएको बताउदै सम्मान कार्य धेरै जिल्लामा शुरु नभएको पनि बताए । बोगटीले वर्षमा १२ जना सम्मानीत हुने जानकारी दिदै यस सम्मानले कार्य सम्पादन मुल्याङ्कनमा समेत अंक बढ्न सहयोग पुग्ने बताए । यस्ता सम्मानले प्रहरी कर्मचारीहरुलाई काम गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।