गल्याङ नगरपालिका ११ गिनचौरमा ६१ जनामा गरिएको परिक्षणमा १ जना मात्र पोजिटिभ

गल्याङ केपी खनाल,जेठ १३

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ गिनचौरमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा एक जना मात्रै पोजिटिभ देखिएको छ ।
उक्त क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपछि गल्याङ नगरपालिकाले उक्त ठाउँमा नै पुगेर परिक्षण गरेको थियो ।
अहिलेसम्म गल्याङ नगर अस्पतालमा मात्रै एण्टिजिन परिक्षण गरिएकोमा शुक्रबार गिनचौरमा रहेको शहरी स्वास्थ्य ईकाई (केन्द्र) मा एण्टिजिन परिक्षण गरिएको हो । सो क्रममा ६१ जनाको एण्टिजिन परिक्षण गरिएको र एक जनामा नतिजा पोजिटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो ।
उक्त ठाउँमा साविकको तुलसीभञ्ज्याङ गाविसका वडा नम्बर ३, ५ र ७ का नागरिकहरु परिक्षणका लागि सहभागी भएका थिए । उक्त क्षेत्रमा विरामीको संख्या बढेको भन्दै स्थानीयले पनि परिक्षणको माग गरेका थिए ।
आवश्यकताको आधारमा अन्य गाउँहरुमा पनि पुगेर परिक्षण गरिने गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘रोगको पहिचान गरी थप महामारी फैलिन नदिन नगरपालिकाले गाउँमा नै पुगेर परिक्षण गर्न लागेको हो ।’
कतिपय विरामीहरु अस्पतालसम्म आइ परिक्षण गर्न अप्ठ्यारो मानिरहेको अवस्थामा गाउँमा नै पुगेर परिक्षण गर्न लागिएको अधिकारीको भनाई छ ।
साथै एण्टिजिन परिक्षण भई १४ दिन पुगेका र रिजल्ट पोजिटिभ आएकाहरुको निम्ति भोलि जेठ १५ गते पिसिआर पनि परिक्षण गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले महामारीलाई कम गर्न नगरपालिकाले विभिन्न उपायहरु अपनाउने तयारी अन्तरगत सक्रियताका साथ काम गरिरहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि नगरपालिकाले आवश्यकताका आधारमा थप सक्रियता देखाउने बताउनुभयो ।
शर्माले पोजिटिभ देखिएकाहरुलाई औषधी उपचारको व्यवस्था र गम्भिर विरामीका लागि अस्पताल ल्याउने व्यवस्था पनि मिलाईएको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाको बजार क्षेत्रमा पछिल्लो समय कोरोनाको संक्रमणमा कमी भएपनि केही ग्रामिण क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको भन्दै नगरपालिकाले गाउँमा नै पुगेर परिक्षण गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.