मेरो दृष्टि संवाददाता
स्याङ्जा , फागुन ७
स्याङ्जाको गल्याङमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गल्याङ् न.पा. -१ नब्बे स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बुटवल तर्फ जाँदै गरेको ग.१५ प. ७४४७ नं. को मोटरसाईकल र बिपरीत दिशाबाट आईरहेको लु.२ख. ५२९० नं. को फोर्स गाडी एक आपासमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका जितेन्द्र पटेललाई उपचारको क्रममा गल्याङ नगर अस्पतालले मृतक घोषणा गरेको हो । रूपन्देही सुद्धोधन गा.पा.-५ फर्सटिकटका २७ बर्षिय पटेल गल्याङ-३ , स्थित कुशल मोटरसाईकल वर्कशपमा मिस्त्री काम गर्दै आएका थिए । मृतकको शव गल्याङ नगर अस्पतालमा राखिएको छ। दुबै सवारी साधन र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।