राजनीतिकर्मीले अनुशासन खेलकुदबाट सिक्नुपर्छ ः अध्यक्ष तिमिल्सिना
सुशील सुवेदी
स्याङ्जा , मङ्सिर २९
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राजनैतिककर्मीले अनुशासन खेलकुदबाट सिक्नुपर्ने बताएका छन् । कालीगण्डकी गाउँपालिकाको ५ औँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको उद्धघाटन गर्दै तिमिल्सिनाले अहिलेको राजनीती अनुशासन विहीन भएको उल्लेख गरेका हुन् ।
कुन मित्र राष्ट्रले पैसा दिन्छन् र देशको विकास गर्छु भन्ने दिन गएको बताउँदै तिमिल्सिनाले आर्थिक विकास तर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।
कालीगण्डकी गाउँपालिकाले प्रत्येक वर्ष पूर्वाधार विकास सँगै खेलकुद महोत्सव गर्दै जाँदा दर्जनौ प्रदेश स्तरीय खेलाडी उत्पादन भएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताए । उनले भने,‘यस वर्षबाट बौद्धिक खेलको रुपमा बुद्धिचाल(चेस) खेल पनी समेटिएको छ । आगामी वर्ष उक्त खेलको अन्तराष्ट्रिय प्रतियोगिता पानी माथी खेलाउँदैछौँ । ’
महिलाहरुलाई पनि समान व्यवहार गर्दै महिला भलिवल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सावित्रा कोईरालाले बताईन् ।
उक्त खेलमा महिला तथा पुरुष तर्फ भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धिचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पुरुष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काईस खेल खेलाईने छ ।
कालीगण्डकी गाँउपालीकाले सुरु गरेको अध्यक्ष कप खेलकुद महोत्सब बाट विभिन्न खेल प्रेमी खेलाडीहरुले लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न मौका पाएकोले खेल क्षेत्रलाई अझै व्यापक बनाईने उपाध्यक्ष कोईरालाको भनाई छ ।
मंसीर २९ गते देखी सुरु हुने खेल पौष १ गतेसम्म सञ्चालन हुनेछ ।
उद्धघाटन कार्यक्रमकै अवसरमा क्षेत्र नं २ का संविधान सभा सदस्य , पूर्व सासंद , बहालवाला सहसचिव सरहका कर्मचारी , बहालवाला माबी प्रथम श्रेणीका शिक्षकलाई सम्मान समेत गरिएको थियो ।
यस्तै कालीगण्डकी गाउँपालीमा जन्मिएका कलाकार खुमन अधिकारी , ज्योती न्यौपाने , पुरुषोत्तम न्यौपाने र नारायण न्यौपानेलाई समेत सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायले बताए ।
कालीगण्डकी गाउँपालीकाले प्रत्येक वर्ष ३० लाख भन्दा बढी रकम खेलकुद क्षेत्रमा खर्चिदै आएको छ ।
६५१ जना सहभागी हुने खेलमा ७ स्वर्ण, ७ कास्य र ७ रजत पदक रहने र पुरस्कार राशी चार लाख असी हजार हुने छ ।