वालिङका १०१ मेलमिलापकर्तालाई स्वास्थ्य बिमा
सुशील सुवेदी
स्याङ्जा ,३० मंसिर
स्याङ्जाको वालिङ नगरपपालिकाले यहाँका मेलमिलापकर्तालाई निशुल्क स्वास्थ्य बिमा गरीदिनेभएको छ । बीमितले तिर्नुपर्ने प्रिमियम रकम पालिकाले तिरीदिनेभएपछि यहाँका १०१ जना मेलमिलापकर्ता प्रत्यक्ष लाभान्वित हुनेभएका हुन् ।
समाजमा भएका विवादलाई छलफल मार्फत मेलमिलाप गराउने जिम्मेवारी पाएपनि आँफूहरुले पाउने सेवा सुविधाबाट बञ्चित हुनुपरेको मेलमिलापकर्ताको गुनासो छ ।
यस्तै समस्याको मध्येनजर गर्दै वालिङ नगरपालिकाले उनीहरुको स्वास्थ्य बिमाको शुभारम्भ गरेको हो । नगरले कार्यविधि बनाएर मेलमिलापकर्तालाई मासिक पच्चिस सय सेवा सुविधा स्वरुप प्रदान गर्ने व्यवस्था समेत मिलाईएको न्यायिक समिति संयोजक तथा उपप्रमुख कविता तिवारीले बताईन् ।
समाजमा मेलमिलापकर्ताको भूमिकाको कारण नगरमा धेरै मुद्धाहरु नआएको तिवारीको भनाई छ । कालो कोट लगाएर मेलमिलापकर्ताले गाउँमा छलफल गराउने गरेको तिवारीको भनाई छ ।
मेलमिलापकर्ताको पहिचानमा समस्या नहोस् भन्ने उदेश्यले गत वर्ष यहाँका एक सय एक मेलमिलापकर्तालाई कालो कोट समेत वितरण गरिएको थियो ।