फेदीखोलापछि बिरुवा गाउँपालिकामा पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने
कार्यक्रम लागू भएसँगै स्थानीय तहका कर्मचारीहरूको सामाजिक तथा आर्थिक सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ।
देशकै पहिलो पटक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्याङ्जाको फेदीखोला गाउँपालिकापछि अब सोही जिल्लाको बिरुवा गाउँपालिकाले पनि आफ्ना कर्मचारीहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गर्ने तयारी गरेको छ। बिरुवा गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीसँग परामर्श लिएको थियो। परामर्शबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि बिरुवा गाउँपालिकाले यस कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको हो।

यसै सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष सुवेदीसहित कार्यालयका प्रवक्ता कृष्ण अधिकारीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका कर्मचारी, शिशु शिक्षिका, कार्यालय सहयोगी तथा करारमा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। अन्तरक्रियामा सहभागी अधिकांश कर्मचारीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमप्रति सकारात्मक धारणा व्यक्त गरेपछि आगामी माघ महिनादेखि कार्यक्रम लागू गर्ने तयारी भइरहेको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले जानकारी दिनुभयो। कार्यक्रम लागू भएसँगै स्थानीय तहका कर्मचारीहरूको सामाजिक तथा आर्थिक सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया राख्नुहोस्