स्याङजाको फेदीखोलामा ‘मेरो अभियान, सफा घर आँगन’ अभियान सुरु
गाउँपालिकाले सुरु गरेको ‘मेरो अभियान, सफा घर आँगन’ अभियानले समुदायस्तरमै सरसफाइप्रति चेतना अभिवृद्धि गर्दै स्वच्छ, सफा र दिगो स्थानीय तह निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्याङजाको फेदीखोला गाउँपालिकाले सभ्यताको पहिचान र दिगो सरसफाइ व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो अभियान, सफा घर आँगन’ अभियान सुरु गरेको छ।
फेदीखोला गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सरसफाइ व्यवस्थापन कार्यक्रमअन्तर्गत टोल विकास संस्था तथा टोल सरसफाइ समितिका अध्यक्षहरूसँग सरसफाइ शुल्क व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै अभियानको औपचारिक सुरुवात गरिएको हो।
कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले समुदायस्तरमै फोहोरमैला संकलन गरी वर्गीकरण गरेर पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई प्रयोगमा ल्याउने र प्रयोग गर्न नमिल्ने फोहोरलाई बजारसम्म पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले फोहोरलाई “मोहोरमा रूपान्तरण” गर्ने अवधारणाअनुसार गाउँपालिका अघि बढिरहेको उल्लेख गर्नुभयो।
अध्यक्ष सुवेदीले गाउँपालिकाले शून्य फोहोर को लक्ष्य लिएको बताउँदै फोहोरका रूपमा फालिने ९० प्रतिशतभन्दा बढी वस्तुहरू पुनः प्रयोग गर्ने लक्ष्यसहित योजना कार्यान्वयनमा रहेको बताउनुभयो। गाउँपालिकाको निरन्तर प्रयास र मेहनतका कारण फोहोरमैला व्यवस्थापनको एक व्यवस्थित प्रणाली स्थापना भइसकेको उहाँको भनाइ थियो।
फोहोरमैला व्यवस्थापनसम्बन्धी असल अभ्यासलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै अध्यक्ष सुवेदीले जथाभावी फोहोर फाल्ने कार्यलाई नियन्त्रण गर्न गाउँपालिकाले दण्ड–सजायको नीति समेत लागू गरेको जानकारी दिनुभयो।
फेदीखोला गाउँपालिकाले फोहोरमैला संकलन, वर्गीकरण तथा व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन लामो समयदेखि छलफल, परामर्श, अन्य स्थानका असल अभ्यासको अध्ययन तथा विज्ञको सुझावका आधारमा फोहोरमैला व्यवस्थापन कार्यविधि २०८१ लागू गरी योजनाबद्ध रूपमा अभियान अघि बढाइरहेको जनाएको छ।
गाउँपालिकाले सुरु गरेको ‘मेरो अभियान, सफा घर आँगन’ अभियानले समुदायस्तरमै सरसफाइप्रति चेतना अभिवृद्धि गर्दै स्वच्छ, सफा र दिगो स्थानीय तह निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्