वालिङ महोत्सवको आकर्षणको केन्द्र बन्दै गोल घर र जलपरी

मेरो दृष्टि संवाददाता वालिङ, फागुन १५

२०६५ सालदेखि सुरु भएको वालिङ महोत्सवले यस वर्ष फरक र विशेष आकर्षण थपेको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा गोल घर र जलपरी दर्शकमाझ केन्द्रविन्दु बनेका छन्। वालिङ महोत्सवको प्रारम्भिक संस्करणमा गोल घर दर्शकको आकर्षणको केन्द्रमा थियो। तर त्यसपछि आयोजित चारवटा महोत्सवमा गोल घर निर्माण हुन सकेन। यस वर्ष भने लामो समयपछि पुनः निर्माण गरिएको गोल घरले महोत्सव परिसरमा छुट्टै रौनक थपेको छ। गोल घरमा फोटो खिच्ने दर्शकहरूको संख्या दिनानुदिन बढिरहेको देखिन्छ। गोल घरले नयाँ पुस्तालाई पुराना पुस्ता कस्तो घरमा बस्ने गर्थे भन्ने जानकारी दिएको छ भने, पुराना पुस्तालाई आफ्नो विगतको जीवनशैली सम्झने अवसर मिलेको छ। आधुनिक घर र सहरमुखी जीवनशैलीका कारण यस्ता परम्परागत घरहरू संरक्षणको अभावमा हराउँदै गएका छन्। यद्यपि, केही गाउँका कुनाकाप्चामा यस्ता घरहरू अझै पनि बेवारिसे अवस्थामा भेटिन सक्छन्।चाडपर्वमा सहरबाट गाउँ फर्कने नयाँ पुस्ताका लागि यस्ता घरहरू नयाँपन बनेका छन्। उनीहरूका लागि गोल घर फोटोसुटको आकर्षक स्थान बनेको छ भने, पुराना पुस्ताले भने आफ्नो विगतको दैनिकी सम्झँदै भावुक हुने गरेका छन्। यही भावनात्मक पक्षलाई यसपटकको महोत्सवमा झल्काउने प्रयास गरिएको वालिङ उधोग वाणिज्य संघका सचिव पितम्बर खनालको भनाई छ । यसअघि गोल घर निर्माणका लागि व्यापक माग भए पनि आयोजकले पर्याप्त महत्व नदिएको गुनासो थियो। तर यस वर्ष दर्शकको चाहना र सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै गोल घर निर्माण गरिएको हो, जसले अहिले महोत्सवको प्रमुख आकर्षणको रूप लिएको छ। त्यसैगरी, नवौँ वालिङ महोत्सवमा प्रस्तुत गरिएको जलपरी पनि दर्शकका लागि नयाँ र रोमाञ्चक आकर्षण बनेको छ। विशेषगरी बालबालिका र युवापुस्ताको भीड जलपरी हेर्न जम्मा हुने गरेको छ। परम्परा र आधुनिकताको सुन्दर संयोजन प्रस्तुत गरेको यस वर्षको वालिङ महोत्सवले दर्शकको मन जित्न सफल भएको देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.