स्याङ्जा–२ मा खिम बहादुर थापाको चुनावी प्रतिबद्धता सार्वजनिक

मुना न्यौपाने फागुन ६,कालिगण्कडी

वालिङ, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका आकांक्षी खिमबहादुर थापाले २० बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै औपचारिक रूपमा चुनावी एजेन्डा अघि सार्नुभएको छ। घरदैलो अभियानका लागि समय अभाव भएपछि उहाँले वालिङस्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम गरी आफ्नो ‘ग्यारेन्टी पत्र’ सार्वजनिक गर्नुभएको हो।

उक्त प्रतिबद्धतामा विकास निर्माणदेखि नागरिकका मौलिक अधिकारसँग जोडिएका विषयसम्म समेटिएको दाबी गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तर्फबाट अघि सारिएको यो योजना आगामी पाँच वर्षभित्र कार्यान्वयन गर्ने लक्ष्य राखिएको बताइएको छ।

थापाले आर्थिक समृद्धिको आधार तयार गर्न नीतिगत सुधार र संरचनागत परिवर्तन आवश्यक रहेको औंल्याउँदै राष्ट्रिय हित संरक्षण र “कोही पनि भोकै नपर्ने” अवस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँको योजनामा स्वदेशी उत्पादन प्रवर्द्धनका लागि “मेक इन नेपाल” अभियान, आवासविहीन परिवारलाई सुरक्षित बसोबास, सबैका लागि रोजगारीको अवसर र नियमित आम्दानी सुनिश्चित गर्ने कार्यक्रम समावेश छन्। शिक्षा क्षेत्रमा पूर्ण साक्षरता, दक्ष र प्रतिस्पर्धी युवा उत्पादन तथा “निरोगी नेपाल, सबल नागरिक” अवधारणालाई प्राथमिकतामा राखिएको छ।

त्यसैगरी, सीमित परिमाणसम्म खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने, किसानलाई मल–सिँचाइ सहज बनाउने, सडक पूर्वाधार विस्तार र सुलभ सार्वजनिक यातायात व्यवस्था गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

हरियाली र व्यवस्थित बस्ती विकास, प्रभावकारी सार्वजनिक सेवा, सामाजिक सुरक्षाको दायरा विस्तार, वित्तीय पहुँच वृद्धि, सुरक्षित मातृत्व र स्वस्थ महिनावारी कार्यक्रम तथा सस्तो सञ्चार सेवाको पहुँच विस्तारजस्ता एजेन्डा पनि समेटिएका छन्।

आफ्ना प्रतिबद्धता पूरा गर्न जनताको साथ अपरिहार्य रहेको उल्लेख गर्दै थापाले सूर्य चिन्हमा मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.