महिलालाई उत्पादनमा जोड्न वालिङमा बाख्राका बीउ पाठी–बोका वितरण
मेरो दृष्टि सम्बादाता वालिङ, चैत ४
स्याङ्जाको वालिङ नगरपालिका–११ मा महिलालाई उत्पादनमुखी बनाउने उद्देश्यले बाख्राका बीउ पाठी तथा बोका वितरण गरिएको छ।
कागतीभन्याङ स्वावलम्बी महिला बाख्रापालन समूहका २१ जना सदस्यलाई उक्त सहयोग प्रदान गरिएको हो। कार्यक्रमअन्तर्गत महिलाहरूलाई आयआर्जनसँग जोड्दै बाख्रापालनतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह्रे ले साना किसान तथा महिलालाई उत्पादनमा जोड्ने अभियानमा नगरपालिका सक्रिय रहेको बताउनुभयो। उहाँका अनुसार स्थानीय उत्पादनको बजारीकरणका लागि ‘पैचो कार्यक्रम’ सञ्चालन गर्ने तयारी भइरहेको छ, जसले कृषकका उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउन मद्दत गर्नेछ। त्यसैगरी वडा नं ११ का अध्यक्ष डण्डपानी पंगेनी ले महिलालाई आर्थिक रूपमा सशक्त बनाउन उत्पादनमा जोडिनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। वालिङ कृषि विकास परियोजनाअन्तर्गत वितरण गरिएको उक्त सहयोग हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीका अनुसार बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउने उद्देश्यले पाठीसँगै बोका वितरण गरिएको हो। सहभागी कृषकलाई आवश्यक तालिम प्रदान गरी उत्पादनमा थप प्रोत्साहन गरिने बताइएको छ। वालिङ नगरपालिकाका १४ वटै वडामा सञ्चालन भइरहेको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमुखी बनाउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।






प्रतिक्रिया राख्नुहोस्