बाह्र बिसे बजारः एक रुपियाँको बरफदेखि सामाजिक सञ्जालसम्म सम्बन्धको दूरीको कथा

माधब गैह्रै चैत्र ५,वालिङ स्याङजा

कुनै समय थियो, जब बाह्र बिसे बजार केवल किनमेल गर्ने ठाउँ मात्र होइन, भावना, सम्बन्ध र आशाको केन्द्र थियो। एक रुपियाँको बरफ खानका लागि पर्खर्नु पर्ने ती दिनहरूमा मानिसहरूबीचको धैर्यता र सन्तुष्टि झल्किन्थ्यो। सञ्चारका साधनहरू सीमित थिए, त्यसैले आफन्त र साथीभाइ भेटिने आशामा बजारमा मान्छेको भीड लाग्थ्यो। कसैले विदेशबाट चिठी ल्यायो भने बाह्र बिसे बजारम भेटेर लिने जमना थियो जुन त्यती बेलाको चिठी केवल कागजको टुक्रा नभई परिवारको खुसी र मायाको सन्देश हुन्थ्यो। त्यो समय मोबाईल,फेसबुक वा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल जन्मिएका पनि थिएनन्, घरहरु टाढा टाढा थिय र मानिसका मनहरु एकअर्कासँग नजिक थिए। प्रेम गर्नु र प्रेम विवाह गर्नु तत्कालीन समयमा राम्रो मानिदैनन्यो । उमेर भएका फरक लिङगका युवायुवतीहरु बोलेकै भरमा घरमा स्पस्टीकरण दिनु पर्ने हुन्थ्यो तर पनि कहाँ मनले मान्छ र प्रेमी–प्रेमिकाहरू लुकेर भेट्ने थलो हुन्थ्यो बाह्र बिसे बजार । अहिले नया युगको ठुला सहर अनि बजारमा हुने आधुनिक सुविधा सम्पन्न मेला जस्तै मेला हुन्थ्यो बाह्र विसे बजार जहाँ टाढा टाढा बाट मानिसहरुको उपस्थित हुन्थ्यो । त्यहा नया अनुहार देखे घर,पारिवारिक अवस्था,मेला पात,लगाएतका परिवारिक गफ सहित आफ्ना भावना साट्थे, र ती साना भेटघाटहरू जीवनभरका सम्झना बन्थे। बजारमा माटाका भाँडा, खुदो, अमिलो, घिउ जस्ता स्थानीय उत्पादनहरूको कारोबार हुन्थ्यो, जसले गाउँको आत्मनिर्भरता झल्काउँथ्यो ।बुढापाकाहरू भन्छन्—यदि कसैले घरको भैँसी वा बाख्रा बेच्नु पर्यो भने, बाह्र बिसे बजार आएका मानिसहरू मार्फत सन्देश पठाइन्थ्यो। “गोरु बेचेको साइनो” भन्ने उखान अहिले पनि चर्चित छ जहाँ गाई गोरु  किनमेलले जिवनभर सम्बन्ध पनि गाँसिन्थे। गाई–गोरु बेच्दा समेत आफन्ती बनिने, दुःख–सुखमा साथ दिने, ऐँचो–पैँचो चल्ने त्यो समाज कति आत्मीय थियो। तर आज समय फेरिएको छ। प्रविधिले संसारलाई नजिक बनाएको छ, तर मनहरू टाढा हुँदै गएका छन्। सामाजिक सञ्जालमा हजारौँ साथी भए पनि, साँचो साथ दिने मान्छे कम हुँदै गएका छन्। पहिलेको जस्तो आत्मीयता, विश्वास र सहयोगको भावना हराउँदै गएको महसुस हुन्छ। त्यसैले कहिलेकाहीँ मनमा प्रश्न उठ्छ—हामी विकासको नाममा कता जाँदैछौं के हामीले सुविधा त पायौँ, तर सम्बन्धको मिठास गुमायौ शायद पुराना दिनहरू फर्काउन सकिँदैन, तर तिनको मर्म बुझेर आजको समाजलाई अझ मानवीय बनाउन सकिन्छ। समय बदलिँदै जाँदा केवल प्रविधि मात्र होइन, हाम्रो जीवनशैली, मेलापात, सम्बन्ध र समाजको आत्मीयता पनि परिवर्तन हुँदै गएको छ। कुनै समय ६ महिनापछि आउने चिठीको पर्खाइमा बित्ने दिनहरू आज मोबाइल फोनका मिनेट–मिनेटका कुराकानीले इतिहासजस्तै लाग्न थालेका छन्। त्यतिबेला एक कोठा चिठीले भरिने हुलाक कार्यालय र दिनभर चिठी बाँडन हिँड्दा खुट्टामा ठेला उठ्ने हुलाकी दाइको संघर्ष आज सम्झनामा मात्र सीमित भएको छ। सायद ती हुलाकी दाइ पनि अहिले कहिले चिठी आउला भनेर घुमाउने कुर्चीमा बसेर पर्खिरहेका होलान् लाग्छ त्यस्तो कुर्चीमा फुर्सदले बस्न पाँउदा तिनै हुलाकी दाईले पनि आफ्नो विगत भुलीसके । त्यो समय मानिसहरू बीचको सम्बन्ध कति आत्मीय थियो भन्ने कुरा आज कल्पना गर्न पनि गाह्रो हुन्छ। आज मन्त्री गाउँ जाँदा मात्र गरिने भव्य स्वागत जस्तै, त्यतिबेला हुलाकी दाइ घर पुग्दा घैयाको पानी, मोही र अमिलो,भोगटेले स्वागत गरिन्थ्यो। त्यो सम्मान पदका लागि होइन, मानवीय सम्बन्धका लागि थियो। गोरु बेचेको साइनो भन्ने उखान केवल शब्द होइन, त्यो समयको समाजको वास्तविक चित्र हो। गाई, गोरु, भैँसी वा बाख्रा किनबेच गर्दा सम्बन्ध गाँसिन्थ्यो, साइनो लगाइन्थ्यो, र ती साइनो जीवनभर निभाइन्थे। दुःख–सुखमा, बिरामी हुँदा वा कुनै विपत्तिमा परे पनि तिनै मानिसहरू बिना स्वार्थ साथ दिन्थे। ऐचो–पैचो चल्ने त्यो समाजमा सहयोग भावना नै सबैभन्दा ठूलो सम्पत्ति थियो। तर आज परिस्थिति फरक छ। सहयोग गर्न जाँदा पनि त्यसलाई भोटसँग जोड्ने प्रवृत्ति बढ्दै गएको छ। सर सापटीमा संका बाहेक केही छैन् । कसैले सापटी दिईहाले पनि चर्की व्याज त्यही माथी प्रमाण स्वरुप कागज बनाउने,  ब्लेन्क चेक दिने रे के के हो के के । न पहिलेको जस्तो आत्मीयता बाँकी छ, न त ऐचो–पैचोको संस्कृति यसले मनमा प्रश्न उठाउँछ—हामी कता जाँदैछौं ।यद्यपि, आशा अझै बाँकी छ। करिब तिस बर्ष सम्म हराएको वालिङ १३ स्थित भट्टेखोलाको बाह्र बिसे बजार लाई पुनः जीवन्त बनाउन गरिएको प्रयासले पुरानो इतिहास र संस्कृतिलाई जोगाउने संकेत दिएको छ। यो मेला केवाल मेला मात्र नभएर नयाँ पुस्तालाई पुरानो समाजको मूल्य र मर्म बुझाउने अवसर दिएको छ। पुरानो हुलाकी दाईको चिठी बोक्ने ईतिहास,साईनो लगाउने चलन,गोरु बेचे साईनोको सम्बन्ध,अ‍ौचो पैचो कसरी चल्थ्यो,मिठो मसिनो खान मेला र चाडपर्व कुर्नु पर्दथ्यो भन्ने कुराको सन्देश दिने र विगतको स्मरण गराउने दिन हो बाह्र बिसे बजार । त्यसैले हराएको ईतिहासलाई बिउझाएर ईतिहास रच्ने मेलाको योजनाकारलाई सलाम । त्यही माथी नजिकदै गरेको मेलालाई भव्य रुपमा सञ्चालन गर्ने तयारी गर्ने मेला व्यवस्थापन समिति, सरोकारवालाहरलाई ती पुराना दिन, ती आत्मीय सम्बन्ध, र त्यो सरल जीवनशैलीलाई जोगाइराख्ने गरेको यो प्रयासप्रति पुनः हृदयदेखि नै धन्यवाद।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.