वालिङ – एक्स ७० वालिङको आयोजनामा गण्डकी प्रदेश खुला तथा ४५ वर्षमाथि समूहको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
मुना न्यौपाने चैत्र १४,कालिगण्डकी
वालिङ – एक्स ७० वालिङको आयोजनामा गण्डकी प्रदेश खुला तथा ४५ वर्षमाथि समूहको ब्याडमिन्टन प्रतियोगिता वालिङ नगरपालिका–१० फुलबारीमा सम्पन्न भएको छ। ३ दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा वालिङ–९ मजुवा ब्याडमिन्टन क्लबका जेम्स गुरुङ र निरु गुरुङको जोडी प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी वालिङ–१० का अनिल हिताङ र आशिष द्वितीय स्थानमा रहेका छन्। तृतीय स्थानमा वालिङ–१० फुलबारीका रिमु बस्याल र विपिन महतवो तथा वालिङ–६ का बुद्धी राना र आशिष थापा रहेका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ४०,००० सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीय हुनेले रु २५,००० र तृतीय हुने टिमले रु ७,५०० सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।यस प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय तथा प्रदेशस्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्नु, खेलकुदमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु तथा समाजमा एकता र सद्भाव कायम गर्नु रहेको आयोजकले जनाएको छ। साथै ४५ वर्षमाथिका नागरिकहरूलाई पनि सक्रिय खेलकुदमा सहभागी गराई स्वास्थ्यप्रति सचेत बनाउने लक्ष्य राखिएको छ।ब्याडमिन्टन खेलले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ। यसले मुटु बलियो बनाउने, शरीरको सन्तुलन र लचकता बढाउने, तनाव कम गर्ने र ध्यान केन्द्रित गर्ने क्षमता विकास गर्ने गर्दछ। साथै, सामाजिक सम्बन्ध विस्तार, टीमवर्कको भावना विकास तथा अनुशासन कायम गर्न समेत मद्दत गर्दछ।






प्रतिक्रिया राख्नुहोस्