हरिनास गाउँपालिका कृषिमा नमुना अभ्यासतर्फ उन्मुख
मुना न्यौपाने चैत्र १५,कालिगण्डकी
स्थानीय तहको संरचना कार्यान्वयनसँगै विकास निर्माणका कामहरूलाई तीव्रता दिएको हरिनास गाउँपालिकाले कृषि क्षेत्रमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ। कृषिमा नवीनतम परिवर्तन ल्याउने उद्देश्यले गाउँपालिकाले सुन्तला र अदुवा जस्ता बालीका गुणस्तरीय बीउ वितरण गर्दै आएको छ। कृषकमैत्री पालिका निर्माण गर्ने लक्ष्यसहित गाउँपालिकाले “प्रथम कृषि तथा पशुपन्छी प्रदर्शनी तथा दुई दिने विशेष शिविर” सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा साना किसान कृषि सहकारी संस्था, चिसापानीको सहजीकरणमा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय स्तरमै उत्पादन भएका पशुहरूको प्रदर्शनीका साथै पशु स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमार्फत पशुहरूको स्वास्थ्य परीक्षण, गोबर परीक्षण गरी आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। साथै, कृषि विज्ञहरूबाट कृषकहरूलाई निःशुल्क प्राविधिक परामर्श पनि प्रदान गरिएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय कृषकहरूलाई आधुनिक तथा व्यवसायिक कृषितर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष मानन्धरका अनुसार कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले हालसम्म १५० भन्दा बढी हाते ट्याक्टर वितरण गरिसकेको छ। साथै, व्यवसायिक रूपमा कृषि तथा पशुपालन गर्दै आएका कृषकहरूलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि सञ्चालनमा रहेको छ। कार्यक्रममा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। गाउँपालिकाले आगामी दिनमा समेत कृषिलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्