सुशील सुवेदी
स्याङ्जा , जेठ ३०
स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । गए रातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीको भनाई छ ।
राति २ बजे ठुलो चट्टान सहित आएको पहिरोको कारण राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
अहिले जिल्ला प्रहरी , जिल्ला ट्राफिक , स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको भएपनी ११ बजेसम्म सडक खुल्ने प्रहरीले बताएको छ ।
पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ ।