चापाकोटमा कुटिए एमाले कार्यकर्ता
सुशील सुवेदी
स्याङ्जा , वैशाख १८
स्याङ्जामा कुटपिट र झैझगडाले चर्चित पालिका हो चापाकोट नगरपालिका । गएराति फेरि एक युवकलाई खुकुरी प्रहार गरिएको छ । स्थानीय तह निर्वाचन को चुनावी कार्यक्रम सकेर चापाकोट फर्कदै गर्दा चापाकोट ९ सुन्तलीटारमा २७ वर्षीय नारायण हिस्की मगरलाई खुकुरी प्रहार गरिएको हो ।
नेकपा एमालेको कार्यक्रम सम्पन्न गरेर फर्केका मगरलाई नेपाली काँग्रेसका युवा समुहले आक्रमण गरेका हुन् । मगरको टाउको र ढाडमा चोट लागेको छ ।
उनलाई चापाकोट अस्पतालमा उपचार गरी थप उपचारका लागि पोखरा पठाईएको छ । मगरलाई २७ वटा टांका लगाइएको चापाकोट नगरपालिका मेयर पदका उमेदवार तथा नेकपा एमाले नगर अध्यक्ष राजु कोईरालाले जानकारी दिए ।
बजारको विचमा यसरी आक्रमण हुँदा स्थानीयवासी पनि त्रसित भएको कोइरालाको भनाई छ । घटनामा संलग्न फरार रहेकाले उनीहरुलाई खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । फरार अपराधीलाई खोज्न जिल्लाबाट समेत प्रहरी पठाईसकिएको छ ।
चापाकोट प्रहरी चौकी र घटनास्थलको दुरी करिब ५० मिटर मात्र छ । तर , घटनामा संलग्न फरार हुनुले पनि यहाँको सुरक्षा कति कमजोर छ भन्ने स्पष्ट पारेको छ ।
चापाकोट श्रेत्रमा यस्ता घटना नौलो भने होईनन् । कहिले जनप्रतिनिधिले त कहिले युवा समुहले कुटपिट गरेको समाचार बाहिर आउने गर्दछन् । यस अघि कृषि बिकास बैंकका कर्मचारी कुट्ने देखि राहत वितरणमा समेत सर्वसाधारण कुट्ने पालिका फेरि यो घटनाले चापाकोटको सुरक्षा माथी प्रश्न चिन्ह खडा गरेको छ ।