पत्रकारको क्षमता र सफलता भनेको सूचना खोज्नु, पत्ता लगाउनु र सार्वजनिक गर्नु हो । पत्रकार कुनै पनि विषयको विज्ञ होइन । उसले कुन कुरा ठीक र बेठीक भनेर छुट्टाउने होइन । जे घटना र तथ्य छ, त्यही सार्वजनिक गर्ने हो । घटना र तथ्य विश्वमा कति हुन्छन् कति । जुन तथ्य समाचार बन्न योग्य छन्, त्यही तथ्यलाई लिने हो । समाचार बन्नका लागि धेरै मानिसलाई जानकारी नभएको नयाँ लाग्ने तथ्य हुनुपर्छ ।
अन्तिम सत्य के हो रु कसैलाई थाहा हुँदैन । उपलब्ध तथ्यका आधारमा अहिलेसम्मको सत्य यो हो भनेर मान्नुपर्छ । त्यसैले पत्रकारको काम तथ्यहरु सार्वजनिक गर्दै जाने हो, सत्य यही हो भनेर निष्कर्ष निकाल्ने होइन । कुन घटना र तथ्य समाचार हुन्छ भनेर थाहा पाउने गुण पत्रकारमा हुनुपर्छ । अडियन्सको रुचि चिन्नु नै पत्रकारको गुण हो । जुन तथ्य समाचारका रुपमा सार्वजनिक गरिन्छ, त्यसको अडियन्स नै भएनन् भने पत्रकारको प्रयास व्यर्थ हुन्छ ।घटनालाई कुन कोणबाट हेर्दा समाचार बन्छ भन्ने गुण पनि पत्रकारमा हुनुपर्छ । एउटै घटना कुनै पत्रकारले महत्वपूर्ण समाचारको रुपमा देख्न सक्छ, कुनैले सामान्य समाचार र कुनैले समाचार नै होइन भन्न सक्छ । समाचार बनाउने नाममा घटनालाई तोडमोड गर्न भने पाइदैन । कतिपय घटना अर्को घटनासँग लिंक भए मात्र समाचार हुने खालका हुन्छन् । जुन पत्रकारलाई अर्को घटनाबारे पनि जानकारी छ, उसका लागि मात्र त्यो समाचार हुन सक्छ । पत्रकारले घटना वा तथ्य आफैं सिर्जना गर्न पाउँदैन । उदाहरणका लागि सवारी दुर्घटनाको समाचार बनाउन सम्भावित दुर्घटनास्थलमा लामो समय उभिएर दृश्य खिचिराख्न मिल्छ रु पत्रकारको एउटा भूमिकाका सम्बन्धमा सधैं विवाद हुने गर्दछ । दुर्घटनामा परेको मानिसको उद्दार गर्ने पहिलो प्राथमिकता कि घटना अवलोकन गर्ने रु
युद्ध र आन्दोलनका बेला घाइतेको उपचार र उद्दार गर्ने अर्को समूह हुने हुँदा पत्रकारले अवलोकन मात्र गर्दा पनि कुनै विवाद हुँदैन । तर, अप्रत्यासित वा एक्कासी हुने घटनाको सम्बन्धमा पत्रकारको भूमिका पहिले कि मानवको भूमिका पहिले रु पत्रकार जुन कुनै समय पत्रकारको भूमिकामा रहन्छ वा रहँदैन रु यो प्रश्न उनुत्तरित रहेको छ ।
पत्रकारको मूल धर्म नै निष्पक्षता र निरपेक्षता हो । पत्रकारले पीडितको पनि पक्ष लिनुहुँदैन । यो धर्म पालना गर्दा दुर्घटनामा पनि कठोर ह्दय बनाउनुपर्ने हुन्छ । पीडित र पीडक भनिएका दुवै पक्षका भनाइ समाचारमा समावेश हुनुपर्छ । पीडित र पीडक छुट्टाउने अधिकार न्यायलयलाई मात्र हुन्छ, पत्रकारलाई हुँदैन ।
घटना र तथ्य धेरै हुन्छन् । त्यसमध्ये कुन कुन घटना र तथ्यलाई समाचारको रुपमा प्रस्तुत गर्ने भन्ने सम्बन्धमा पत्रकारले पूर्वाग्रह र बदनियत राख्ने सम्भावना हुन्छ । यहींनेर व्यावसायिक धर्मको महत्व हुन्छ । समाचार जहिले पनि सन्तुलित हुनुपर्छ ।
कुनै घटना र तथ्यले कुनै पक्षलाई आरोप लागेको वा असर परेको छ भने दोस्रो पक्षलाई पनि समेट्नुपर्छ । उदाहरणका लागि निषेधाज्ञा उल्लंघन गरेका भनी व्यक्तिहरुलाई प्रहरीले कारबाही गरेको छ । उल्लंघन गर्नेलाई कारबाही गरेको भनेर समाचार लेख्नु धर्मविपरीत हो । प्रहरीले कारबाही गरेका मानिसलाई पनि सोध्नुपर्छ ।
सत्यतथ्य समाचार प्रस्तुत गर्नु मात्रलाई पत्रकारको धर्म मानिंदैन । निष्पक्षता र सन्तुलन हुनैपर्छ । विभिन्न धारका सत्यतथ्य हुन्छन् । एउटा धारको मात्र तथ्य प्रस्तुत गर्दा पत्रकारले झुटो समाचार दिएको त देखिंदैन तर वास्तवमा उसले धर्म निर्वाह गरेको हुँदैन । समाचार सामग्री समावेशी पनि हुनुपर्छ । विभिन्न स्थानमा मानिसहरुका विभिन्न प्रकारका पीडा र समस्या हुन्छन् । ती सबैको प्रतिनिधित्व गराउन प्रयत्न गर्नुपर्छ । पत्रकारिता आवाजविहीनहरुको आवाज हुनुपर्छ ।
अहिले कोरोना भाइरसका नाममा विश्व स्वास्थ्य संगठनको सिफारिशमा विश्वका विभिन्न सरकारले नागरिकका मौलिक अधिकारहरुमा रोक लगाएका छन् । सञ्चार माध्यम र पत्रकारहरुले विश्व स्वास्थ्य संगठनले भनेको सत्य हो भन्ने पूर्वाग्रह राखेर समाचारहरु प्रस्तुत गरिरहेका जस्तो देखिन्छ ।
पत्रकार आफैं भाइरस, शरीर विज्ञान र पोषण विज्ञानका विज्ञ होइनन् । उनीहरुले विश्व स्वास्थ्य संगठनको भनाइलाई तथ्यका रुपमा मात्र प्रस्तुत गर्ने हो, सत्यका रुपमा होइन । यसका सन्दर्भमा फरक तथ्य, तर्क र विचार राख्ने वैज्ञानिक र चिकित्सकहरु पनि विश्वमा धेरै छन् । उनीहरुको भनाइलाई निषेध वा न्यून स्थान दिइएको जस्तो देखिन्छ ।
कोरोनाको कारण एक जना मानिसको मृत्यु हुँदा वा एक जना निको हुँदा प्रमुख समाचार बनाउनु पत्रकारिताको धर्म, व्यावसायिकता र आचार संहिता विपरीत छ । अन्य मृत्यु वा निको एक कोलमका सामान्य समाचार हुन्छन् भने यसको भार कसरी बढी हुन्छ रु
समाचारमा दुर्घटनाको दृश्य देखाउन र यसरी मृत्यु भयो भनेर वर्णन गर्नु हुँदैन । अडियन्समा मनोवैज्ञानिक असर नपरोस् भनेर यो आचारसंहिता लागू भएको हो । तर कोरोनाको सम्बन्धमा सञ्चार माध्यमहरुले मान्छे छटपटाएका भिडियो प्रशारण गरे । शब्दको प्रस्तुतीबाट त्रास सिर्जना गरिरहेका छन् ।
सबैको विचारलाई समान स्थान दिने त हो तथापि पत्रकारले छनोट पनि गर्नुपर्छ । छनोट गर्दा कुन सत्य र कुन असत्य भन्ने आधारमा छनोट गर्ने होइन । तथ्यपरक छ र जनरुचि हुन्छ भने स्थान दिनुपर्छ ।
सर्वसाधारणको चेतनास्तर अनुसार कतिपय विचारहरु सेन्सर गर्नुपर्ने हुन्छ । कुनै विचार सार्वजनिक गरिदिंदा मानिसहरु साप्रदायिक हिंसामा उत्रिहाल्ने प्रबल सम्भावना छ भने त्यसलाई सेन्सर गर्नुपर्छ । सेन्सर गर्न खोज्दा पनि निष्पक्षता, सन्तुलन र समावेशी कायम होस् भन्नेमा चनाखो रहनुपर्छ । यस्तो विषयमा निर्णय लिन पत्रकारलाई गाह्रो पर्छ किनकि पत्रकार समाजशास्त्री वा मनोवैज्ञानिक होइनन् ।
पत्रकारिता समाजको दर्पण बन्ने प्रयास गर्नुपर्छ । तर, पूर्णत दर्पण हुन सक्दैन । एउटा सञ्चार माध्यमले छुटाएको सूचना अर्कोले समेट्छ । एक सञ्चारकर्मीबाट अपूरो भएको सूचना अर्को सञ्चारकर्मीको प्रयत्नबाट परिपूर्ति हुन सक्छ । यही आधारमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाले सबैलाई अब्बल बनाउन दबाब र प्रेरित गर्दछ ।
पत्रकार पूर्वाग्रही नहुँदैमा पत्रकारिताको धर्म निर्वाह हुँदैन । समाजलाई अपाच्य र इमोसनको कारण हुने क्षति नहोस् भन्नका लागि मात्र सेन्सर प्रयोग गर्ने हो । अन्जानमा अन्यत्र पनि सेन्सर प्रयोग हुँदा आम नागरिकमाथि अन्याय हुन जान्छ । यसतर्फ सञ्चार जगतले विचार पुर्याउनुपर्दछ ।
९लेखक त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर हुन् ।०