पोहोर झै
फेरेर बैँस पालुवा
घुम्टो फुकाई उम्रदौ छ कोपिला
उस्तै छ वेग, उस्तै तरङ्ग पवनको
सर्वश्रेष्ठ ठान्ने मान्छे म
पोहोर झै
अहिले अनि कहिले सम्म
सवाल जवाफ भित्ताहरुसग
कति हो आयु
यी स्वास नलिहरुको ?
कैदी म मात्र कहाँ हो र
उकुसमुकुस छ्न ओठ
नाक अनि अङ्ग अङ्गहरु
बाच्न या बचाउन
उदेश्य के ? छैन पत्तो आफैंलाई
र पनि आफैलाई थुन्दैछु
कहिले घाम सगैका कालरात्रि
त कहिले प्रभातको काल कोठरिहरुमा ।
म जस्तै लाग्ने पार्थिव शरीरहरु
कतै लडेको, कतै सडेको
त कतै डडेको देख्दा देखदैपनी
मलाई ती शरीर भन्दा बढी
आफ्नै मृत आत्माको दया लाग्छ
न आफै घाट सम्म पुग्न सक्छु
न मन्दिर सम्म
न सुन्न पाउछु कठै कसैको
न भन्नलाई ।
हे सृष्टि
मलाई माफ गरिदेउ
तिम्रो रचनाको श्रेष्ठ बनेर
पाइला पाइलामा स्वासका कण कण सग
युद्ध लडेर, लतार्ङ लड्न सकिन
बरु मलाई कीट बनाईदेउ
सिस्नु, ऐंजेरु, घास बनाईदेउ
किनकि
म श्रेष्ठहरुको हरूवा होइन
निम्न भित्रको स्वतन्त्र चहान्छु
मेरा अङ्ग प्रत्यङ्ग सगै
मेरो आयु स्वतन्त्र सकियोस्
चित्कारमा होइन
बरु गुमनाम मै सकियोस् ।
नारायण चापागाई
वालिङ ४ स्याङ्जा