संगठन, अनुशासन र कमाण्ड: स्याङ्जामा एमाले किन बलियो देखिँदैछ?

१५०१ सदस्यीय विशाल निर्वाचन परिचालन कमिटी गठनसँगै एमालेले निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई रणनीतिक राजनीतिक लडाइँका रूपमा लिएको संकेत दिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा स्याङ्जाको राजनीतिक मैदानमा नेकपा (एमाले) संगठित शक्ति र स्पष्ट कमाण्डका कारण अन्य दलभन्दा अघि देखिन थालेको छ । १५०१ सदस्यीय विशाल निर्वाचन परिचालन कमिटी गठनसँगै एमालेले निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई रणनीतिक राजनीतिक लडाइँका रूपमा लिएको संकेत दिएको छ ।

जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) को नेतृत्वमा बनेको परिचालन संरचनाले पार्टीको तल्लो तहदेखि माथिल्लो नेतृत्वसम्म एउटै चेन अफ कमाण्ड कायम गरेको छ । यो संरचना विगतका निर्वाचनमा एमालेको संगठनात्मक बलको आधार बनेको मोडेलकै विस्तारित रूप मानिन्छ ।

विशेषतः केन्द्रीय सदस्य सिमाकुमारी क्षेत्रीको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन हाइकमाण्डले निर्णय प्रक्रियालाई छरितो बनाउने अपेक्षा गरिएको छ । यसले चुनावी अभियानमा देखिने आन्तरिक ढिलासुस्ती, सन्देशको द्विविधा र कार्यान्वयनको कमजोरी न्यूनीकरण गर्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

जिल्ला अनुगमन तथा मूल्यांकन समिति, प्रशासनिक सहजीकरण समिति र स्थानीय जनप्रतिनिधि समन्वय समिति गठनले एमाले केवल भीड व्यवस्थापनमा होइन, नतिजामुखी व्यवस्थापन मा केन्द्रित देखिन्छ । यस्तो बहु-स्तरीय संयन्त्र स्याङ्जामा अन्य दलमा स्पष्ट रूपमा देखिँदैन ।

अभिमुखीकरण कार्यक्रममा केन्द्रीय सचिव पद्माकुमारी अर्याल र दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले संगठन, एजेन्डा र नेतृत्वबीच समन्वयको सन्देश दिएका छन् । यसले मतदातामाझ ‘एमाले तयार छ’ भन्ने मनोवैज्ञानिक प्रभाव पार्ने अनुमान गरिएको छ ।

राजनीतिक रूपमा हेर्दा, स्याङ्जामा एमालेको शक्ति संगठनात्मक अनुशासन, स्थानीय जनप्रतिनिधिको सक्रियता र केन्द्रीय नेतृत्वसँगको प्रत्यक्ष समन्वयमा केन्द्रित देखिन्छ । यही कारण आगामी निर्वाचनमा एमाले निर्णायक भूमिकामा देखिन सक्ने सम्भावना बलियो बनेको राजनीतिक विश्लेषण छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.