बाढीपीडितका लागि बिरुवा बिरुवागाँउपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

भदौ १७,वालिङ मेरो दृष्टि सम्बादात

रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै स्याङ्जाको बिरुवा गाउँपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि ३० लाख ७५ हजार ५८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बिरुवा गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। गाउँपालिकाले विपद्पछि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। गाउँपालिकाका अनुसार सहयोग रकम विभिन्न शीर्षकबाट व्यवस्थापन गरिएको हो।

स्थानीय विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको सेवा सुविधाबाट १० दिन बराबरको २ लाख ३ हजार ४५० रुपैयाँ ,गाउँपालिकामा कार्यरत कर्मचारीहरू अधिकृत स्तरका कर्मचारीको ७ दिन, सहायक स्तरका कर्मचारीको ५ दिन तथा श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको तलबबाट ४ लाख ९९ हजार ६४५ रुपैयाँ योगदान गर्ने निर्णय गरिएको छ। यसैगरी गाउँपालिकाअन्तर्गतका शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीबाट समेत रकम संकलन गरिने भएको छ। माध्यमिक तहका शिक्षक, निम्नमाध्यमिक तह प्रथम तथा द्वितीय श्रेणी र प्राथमिक तह प्रथम श्रेणीका शिक्षकको ७ दिन तथा अन्य तहका शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको २ दिन बराबरको तलबबाट १८ लाख ७१ हजार ९६३ रुपैयाँ योगदान गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। यसरी स्थानीय विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–विद्यालय कर्मचारीको योगदानसमेत गरी कुल ३० लाख ७५ हजार ५८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो। गाउँपालिकाले बाढीबाट ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकको सकुशल उद्धारको कामना गरेको छ। साथै विपद्को सामना गर्न सबै निकाय, व्यक्ति तथा संघसंस्थासँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.