लैङ्गिक हिंसा न्यूनीकरणमा मनोसामाजिक परामर्शलाई प्राथमिकता, वालिङमा दुईदिने तालिम

मेरो दृष्टि संवाददाता वालिङ, मंसिर १०

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउँदै हिंसापीडितको संरक्षण, मनोसामाजिक अवस्था सुधार र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित स्याङ्जाको वालिङ नगरपालिकामा दुईदिने मनोसामाजिक परामर्श तालिम सुरु भएको छ। वालिङ नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा सुरु भएको तालिममा समुदाय स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स तथा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको हो। मंसिर ९ र १० गते सञ्चालन हुने तालिमको सहजीकरण वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले गरिरहनुभएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालन गरिएको कार्यक्रमले हिंसालाई केवल व्यक्तिगत वा पारिवारिक समस्याका रूपमा मात्र नहेरी यसले व्यक्तिको मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र समग्र जीवनमा पार्ने प्रभावलाई समेत सम्बोधन गर्नुपर्ने सन्देश दिने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य प्रमुख पाण्डेको भनाई छ ।

तालिमले स्वास्थ्यकर्मी तथा समुदायस्तरमा काम गर्ने जनशक्तिलाई हिंसापीडितको अवस्था पहिचान गर्न, उनीहरूको कुरा संवेदनशीलतापूर्वक सुन्न, गोपनीयता कायम राख्न र आवश्यकताअनुसार सम्बन्धित निकायमा प्रेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी  विद्यालय नर्स तथा अस्पतालका स्वास्थ्यकर्मीहरू नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूलाई प्रशिक्षण गराँउदा स्वास्थ्य कर्मीले हिंसाका सम्भावित घटना र त्यसबाट उत्पन्न मनोसामाजिक समस्यालाई समयमै पहिचान गर्न सक्ने र पीडितले समयमै उपचार र न्याय प्राप्त गर्दे थप हिंसा हुन नदिन परिवार, तथा समुदायलाई दवाव पर्ने हुँदा मनोसामाजिक परामर्शलाई प्राथमिकता दिदै यो कार्यम्रम गरिएको प्रमुख पाण्डेको भनाई छ । यस्ता खाले कार्यक्रमले हिंसाप्रति शून्य सहनशीलताको भावना विकास गर्ने, विभेदपूर्ण व्यवहार हटाउने र हिंसाका घटनालाई लुकाउनुको सट्टा सुरक्षित रूपमा उजागर गर्न प्रोत्साहित गर्ने कार्यले हिंसा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने अपेक्षा समेत गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.