भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, पाँचबुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक
मेरो दृष्टि संवाददाता वालिङ, स्याङ्जा।
स्याङ्जाको भीरकोट नगरपालिकाले मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गर्दै ‘एक स्वास्थ्य’ (वन हेल्थ) अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएको छ। ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६’ का अवसरमा सोमबार भीरकोट नगरपालिका कार्यालयमा आयोजित ‘एक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मार्फत नगरपालिकाले साझा प्रतिबद्धतासहित पाँचबुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक गरेको हो।भीरकोट नगरपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र दियालो स्याङ्जाको सहयोग एवं सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। ‘आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम’ अन्तर्गत आयोजित अभिमुखीकरणमा सहभागी सरोकारवालाहरूले प्रतिजैविक औषधिको सही प्रयोग, जुनोटिक रोगको रोकथाम तथा खाद्य स्वच्छतालाई प्राथमिकता दिँदै ‘एक स्वास्थ्य’ अवधारणालाई नीति तथा व्यवहारसँग जोड्नुपर्नेमा जोड दिएका थिए।

‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता
कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले ‘एक स्वास्थ्य’ अवधारणालाई नगरपालिकाले व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले मानव स्वास्थ्य, पशुपन्छी स्वास्थ्य र वातावरण संरक्षण एकअर्कासँग अभिन्न रूपमा जोडिएकाले सबै क्षेत्रको सहकार्य र जिम्मेवार व्यवहारमार्फत स्वस्थ समुदाय निर्माण गरिने बताउनुभयो।

अभिमुखीकरणमा हेफर प्रोजेक्ट नेपालका डा. अंशु प्रधानले ‘एक स्वास्थ्य’ अवधारणा, यसको महत्त्व तथा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको सान्दर्भिकताबारे विस्तृत जानकारी दिनुभएको थियो।
यस्तै, भीरकोट नगरपालिकाका पशु सेवा शाखा प्रमुख डोलराज गैह्रे, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेलगायतले पशुपालन, कृषि अभ्यास, औषधिको विवेकपूर्ण प्रयोग र अन्तरक्षेत्रीय समन्वयका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा भीरकोट नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
पाँचबुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक
कार्यक्रमका क्रममा ‘एक स्वास्थ्य, साझा जिम्मेवारी ! जिम्मेवार व्यवहार, स्वस्थ समुदाय, समृद्ध भविष्य’ र ‘प्रतिजैविकको सही प्रयोग, प्रतिरोधको रोकथाम !’ भन्ने मूल सन्देशसहित पाँचबुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक गरिएको थियो।
प्रतिज्ञापत्रमा समेटिएका मुख्य विषयहरू यसप्रकार छन् :
१. एन्टिबायोटिक औषधि चिकित्सक वा पशु चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्ने तथा तोकिएको मात्रा र अवधि पूरा गर्ने।
२. मानव तथा पशु स्वास्थ्यमा प्रतिजैविक औषधिको विवेकपूर्ण र जिम्मेवार प्रयोग गर्ने तथा अनावश्यक प्रयोगलाई निरुत्साहित गर्ने।
३. जुनोटिक रोगको रोकथाम तथा नियन्त्रणका लागि खोप, स्वास्थ्यसम्बन्धी सावधानी र जैविक सुरक्षाका उपाय अपनाउने तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने।
४. विषादीको सुरक्षित प्रयोग, वातावरणमैत्री कृषि अभ्यास र असल पशुपालन पद्धति अपनाउँदै खाद्य स्वच्छता तथा सुरक्षा प्रवर्द्धन गर्ने।
५. मानव, पशुपन्छी र वातावरणको स्वास्थ्य संरक्षणका लागि भीरकोट नगरपालिकाले स्वास्थ्यकर्मी, कृषक, समुदाय तथा सबै सरोकारवालासँग सहकार्य गर्ने।
नगरपालिकाले मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्दै ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने साझा प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न गरेको छ।





प्रतिक्रिया राख्नुहोस्