बिरुवामा बृहत् आँखा स्वास्थ्य शिविर हुँदै, ४० बिरामीको शल्यक्रिया गरिने

बिरुवा गाउँपालिकाको आयोजना तथा BM Foundation, BP Eye Foundation, KDC Hospital र TPB संस्थाको सहयोगमा बिरुवा गाउँपालिकामा बृहत् आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
असोज २१ र २२ गते दुई दिन सञ्चालन हुने शिविरमा बिरुवा गाउँपालिका–८, ७, ५ र २ का स्वास्थ्य संस्थामा आँखा परीक्षण तथा स्वास्थ्य सेवा प्रदान गरिनेछ। शिविरमा बिरुवा गाउँपालिका भित्रका तथा बाहिरका आँखा सम्बन्धी समस्या भएका सबै नागरिकले स्वास्थ्य सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ।
शिविरमा आवश्यकता अनुसार आँखा परीक्षण तथा परामर्श, औषधि र चश्मा वितरण गरिनेछ। परीक्षणका क्रममा आँखाको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएमा उनीहरूका लागि असोज २३ र २४ गते बिरुवा आधारभूत अस्पताल, चिन्नेबासमा शल्यक्रिया शिविर सञ्चालन गरिनेछ।
यसअघि बिरुवा गाउँपालिकाका वडा नं. ३, ४ र ६ मा सञ्चालन भएको आँखा शिविरमा शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका ४० जना बिरामीको समेत असोज २३ र २४ गते शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ।
शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सम्बन्धित शिविर सञ्चालन भएको स्वास्थ्य केन्द्रबाट बिरुवा आधारभूत अस्पताल, चिन्नेबाससम्म आउन–जान गाउँपालिकाले सवारीसाधनको व्यवस्था गर्ने जानकारी दिएको छ।
गाउँपालिकाले आँखा सम्बन्धी समस्या भएका सबै नागरिकलाई शिविरमा सहभागी भई समयमै स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा लिन अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.