मेरो दृष्टि संवाद्दाता
स्याङ्जा , २४ फागुन
१११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समुदाय स्तरीय क्यान्सर सचेतना तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविरको आयोजना गरिएको छ । लायन्स क्लव अफ वालिङ ग्रिन होमले आयोजना गरेको उक्त शिविरमा १८० जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
उक्त शिविरको उद्धघाटन गर्दै वालिङ नगरपालिका का उप—प्रमुख कल्पना तिवारीले नगरभित्र भएका २८ हजार महिलालाई पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण को अभियान चलाउने बताईन् । उनले भनिन् , ‘समयमा उपचार नगराउँदा अकालमा ज्यान गुमाउनपर्ने समस्याको अन्त्य गर्न नगरपालिकाले १४ वटै वडामा परीक्षण तथा शल्यक्रिया समेत प्रदान गर्नेछ । ’ वालिङ नगरपालिकाले विपन्न महिलाहरुलाई स्वास्थ्य बीमा र निशुल्क पाठेघर सम्बन्धी उपचार गरिदिने उप—प्रमुख तिवारीले बताईन् ।
महिलाहरुले पाठेघर तथा स्तनको रोग परामर्श गर्न लाज मान्ने गरेको कारण यस्ता समस्या भित्र भित्रै
लुक्ने गरेको नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका सभापति प्रेम ब. भुजेलले बताए । भुजेल भन्छन् , ‘महिलाहरुले लाज मानेकै कारण समयमा रोगको पहिचान हुँदैन । अन्तिम अवस्थामा चेक जाँच गर्ने समस्या अझ ग्रामीण भेगमा अत्याधिक छ । यही समस्या निराकरण गर्न यस्ता शिविरले महत्वपुर्ण भूमिका खेल्छ ।‘
वालिङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको शिविरमा १८० जनाले सेवा लिएको लायन्स कल्व अफ वालिङका अध्यक्ष सजना कंडेलले बताईन् । लायन्स क्लव अफ पोखरा ग्रिन टाउनका अध्यक्ष कविता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लायन्स क्लव अफ वालिङका प्रथम उपाध्यक्ष तेजन रानाले गरेका थिए ।