सुशील सुवेदी
स्याङ्जा, २४ फागुन
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले चलाएको ‘ आई लभ यु बुढी ’ को अभियान जिल्लामा मात्र होइन देशभर लोकप्रिय बन्यो । प्रहरीको जिवनमा पारिवारीक सुख ल्याउन यो अभियान ल्याइएको थियो । सेवा अवधिभर घरपरिवारलाई दैनिक सम्झनुपर्दछ भन्ने उदेश्यले राति सुत्ने बेलामा फोन गरेर परिवारलाई ‘आई लभ यु ’भन्नुपर्ने अभियान संचालन गरिएको थियो ।
प्रहरी उपरीक्षक बोगटीले सेवा अवधिभर मात्र होइन निवृत्त भएपछि पनि प्रहरीको जिवन सुखद हुनुपर्दछ भन्ने उदेश्यले सिपमुलक तालिम प्रदान गराएका छन् ।
प्रहरीबाट निवृत्त हुन लागेको २० जना प्रहरीलाई विद्युतिय दुर्घटना निराकरण गर्न र सेवा अवकास पछि उद्यमी बनाउन ४५ दिने हाउस वायरिङ तालिम प्रदान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यो तालिमलाई अवकास कार्ययोजना अन्तर्गत प्रदान गरेको प्रहरी उपरीक्षक होबिन्द« बोगटीले जानकारी दिए । उनी भन्छन् ,‘ जनताको सेवामा खटिने प्रहरीलाई सेवा अवधीभर र अवकास पछि पनि सुखी जिवन जिउन सिकाउने अभ्यासको थालनी गरेका छौँ । ’
‘सिप सिकौँ , आत्मनिर्भर बनौँ’ , भन्ने नारा सहित घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाले आयोजना गरेको तालिममा अवकासको उत्तरार्धमा पुगेका २० जना र सेवा निवृत्त भएका २ जना प्रहरी सहभागी छन् । यो तालिम सम्पन्न भए पश्चात २६ वटा प्रहरी युनिटमा प्रहरीले नै विद्युतिय समस्या निराकरण गर्ने जनशक्ती उत्पादन गर्ने जिप्रका स्याङ्जाको लक्ष्य छ ।
यो तालिम लिइसकेपछि वैदेशिक रोजगारी र अन्य पेशामा भौतारिन भन्दा आफ्नै सिपलाई उपयोग गर्न प्रहरीहरु उत्साहित भएका छन् । सेवाबाट अवकास हुन वर्ष बाँकी रहेका प्रहरी हवल्दार मनोज प्रसाद पाण्डे भन्छन् , ‘ प्रहरी सेवाको रिटाएर पछि वित्तिय संघ संस्थामा सुरक्षा गार्डको जागिर खोज्दै हिँड्न त पर्दैन । सिप भएपछि आफ्नै कर्म गर्न त पाइन्छ’ , उनी भन्छन् ,‘सेवा अवधिभर विद्युतिय दुर्घटनाबाट मानवीय क्षति रोक्न र सेवा पश्चात आफ्नै व्यवसाय संचालन गर्न यो सिप काम लाग्नेछ । ’
स्याङ्जाका प्रहरीहरुलाई प्रदान गरिएको हाउस वायरिङ तालिमले उनीहरुलाई उद्यमी मात्र बनाउने छैन समाजमा हुने दुर्घटना समेत निराकरण गर्नेछ । बहुउपयोगी सिप देशका सबै प्रहरी कार्यालयमा लागु हुन सके प्रहरीको निवृत्त पश्चातको जिवन पनि सुखद हुने देखिन्छ । यो तालिम चैत्र ३१ गतेसम्म संचालन हुने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।