गण्डकीबिश्वमोफसल

छाङछाङदी मन्दिरमा शिवरात्रिको तयारी पुरा

सुशील सुवेदी
स्याङ्जा , फागुन २६
महाशिवरात्रिलाई लक्षित गर्दै स्याङ्जाको. भिरकोटमा रहेको छाङछाङदी मन्दिरलाई दुलही झैँ सिँगारिएको छ । दस हजार बढी दर्शनार्थीले दर्शन गर्ने लक्ष्य सहित तयारी पुरा गरिएको छाङछाङदी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी दिए । उनले भने,‘ विगतका वर्षमा १२ हजार बढी दर्शनार्थी सहभागी हुने यस मन्दिरमा कोभिडको कारण केही संख्या घट्न सक्छ । हाम्रो तयारी दस हजारलाई गरेका छौँ ।’
सिद्धार्थ राजमार्गको काखमा रहेको यस क्षेत्रको महिमा श्री स्वस्थानी व्रतकथामा उल्लेख रहेको पाईन्छ । स्वस्थनी कथा अनुसार महादेवले सतिदेवीको मृत शरीर ब्रमहाण्डमा बोकेर डुल्ने क्रममा अन्तिम अङ्ग पतन भएको क्षेत्र को रुपमा छायाँक्षेत्रलाई चिनिदै आएको छ । सतिदेवीको सबै अङ्ग पतन भएपश्चात महादेवले आफ्नो प्यास मेटाउन त्रिसुल प्रहार गर्दा पानीको वर्षा भएको र त्यही पानी छङ….छङ गर्दै बग्ने भएकोले यस पवित्र स्थलको नाम छाङछाङदी रहेको हो भन्ने किंवदन्ती छ ।

केही अग्रजहरु मगर भाषामा डि को अर्थ पानि र छ्याङ्ग—छ्याङ्ग गर्दै पानी बग्ने भएकाले छ्याङ्ग—छ्याङ्ग डी अपभ्रम्स हुँदै छाङछाङदी नामाकरण भएको विश्वास गर्ने पनि गरेका छन् । यद्यपि धार्मिक महत्वको कारण यहाँ विशेष शिव महिमाको पावन अवसरमा आरधना हुने गर्दछ । महाशिवरात्रिमा अझ विशेष पर्व तथा मेला लाग्ने गर्दछ ।

स्याङ्जाको भिरकोट ४ मा रहेको छाङछाङदी मन्दिर परिसर ।

छाङछाङदीको जलले स्नान गरेर पवित्र भईन्छ भन्ने विश्वासको कारण दर्शनार्थीले गौमुख बाट झरेको जलधारामा स्नान गर्ने गर्दछन् । भक्तजनले यस पवित्र स्थलमा आई दर्शन गर्दा मनोकामना पुरा हुने भएकोले यस क्षेत्रमा नेपाल सहित भारत देखिका भक्तजनहरु आउने गर्दछन् ।

भक्तजनहरुलाई सहज दर्शन गर्न महिला पुरुषको लाईन अलग अलग बनाईएको छ । अशक्त तथा वृद्ध दर्शनार्थीलाई निशुल्क र छिटो दर्शन गर्न चहाने दर्शनार्थीलाई स—शुल्क फास्ट ट्रयाकको व्यवस्था गरिएको छ । मन्दिर परिसरमा एक सय बढी स्टल रहनेछन् । टाढा टाढाबाट आउने भक्तजनलाइ आवास को समेत व्यवस्थापन गरिएको समितिका सचिव कृष्ण प्रशाद श्रेष्ठले जानकारी दिए ।

शिवरात्रिको दिन बिहान ३ बजेदेखि नै दर्शन गर्ने भक्तजनको भिडभाड लाग्ने गर्दछ भने मन्दिर परिसरमा भजन कीर्तनको पनि आयोजना गरिएको श्रेष्ठले बताए ।
स्याङ्जामा छाङछाङदी बाहेक राम्दी , केदारथान , ध्वाङ्खोला , सेतिवेनी लगाएतका शिवशक्ती पिठहरुमा भिडभाड हुने गर्दछ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.