काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८-०७९ देखि श्रमिकको न्यूनतम् तलब बढाउने बताउनुभएको छ । शनिबार १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्याउने घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि पनि उहाँको दाबी रहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उहाँको भनाई छ ।
त्यसैगरी देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।