मेरो दृष्टि संवाददाता
नवलपुर , असार २३
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन नजिकिदै गर्दा नेपालका चर्चित उद्योगपति बिनोद चौधरीले कांग्रेस पार्टीको नेतृत्वमा आउन सक्रिय राजनीति शुरु गरेका छन् । कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन रुची राख्दै चौधरीले कार्यकर्ता भेटघाट थालेपछि जिल्ला नेतृत्व असुन्तुष्ट भएको छ भने युवा कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।
चौधरीले नवलपरासीमा देउवा पक्षिय कार्यकर्ताहरुलाई बोलाएर भेटघाट शुरु गरेपछि पार्टी महामन्त्री शशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलका कार्यकर्ता झस्किएका छन् । नवलपुरका जिल्ला नेताहरुलाई थाहै नदिई भेटघाट गरेपछि पुराना कार्यकर्ता सशंकित भएका छन् । उनले ४ दिनअघिबाट संघिय सांसद सत्यनारायण खनालसहितको टोलीलाई बोलाएर भेटघाट गरेका छन् । खनाल पार्टी सभापति देउवाका विश्वास पात्र हुन् ।
कांग्रेसका संघिय सांसद समेत रहेका चौधरीले पहिलो पटक नवलपुर र परासीमा देउवा पक्षिय कार्यकर्तालाई भेला गरेर भेटघाट गरेपछि यहाँका अर्का नेता तथा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला पक्षधरहरु सशंकित भएका छन । महामन्त्रीकै जिल्लाबाट संघिय संसदमा प्रतिनिधित्व गरेका चौधरीले देउवा पक्षिय कार्यकर्ता मात्र डाँकेर भेला गर्नुलाई पार्टि सभापतिमा उम्मेदवार घोषणा गरेका शशांक कोइरालालाई धक्का दिन थालिएको पहिलो शुरुवात भनेर कार्यकर्ताले चौधरीको आलोचना गरेका छन् ।
कांग्रेसकै सांसद चौधरीले यसअघि जिल्लाका कार्यकर्ता मात्र होइन जिल्ला नेताहरुलाई समेत भेट गर्दैनथे । कांग्रेसकै सांसद रहेरपनि जिल्ला नेताहरुलाई भेट नदिने चौधरीले एकाएक देउवा पक्षिय कार्यकर्तालाई भेटघाट गर्दै हिँडेका छन् । आसन्न महाधिबेशनमा कांग्रेस सभापतिमा डा. शशांक कोइरालाले उम्मेदवार घोषणा गरेर देशब्यापी दौडाहा थालिरहँदा नवलपुरकै अर्का सांसद बिनोद चौधरीले देउवा पक्षधरलाई मात्र बोलाएर भेटघाट गर्नुलाई नवलपुरमा अर्थपुर्ण मानिएको छ ।
पुर्वी नवलपरासीबाट संघिय सांसद (निर्वतमान) रहेका चौधरीले देउवा निकट मानिने केन्द्रीय सदस्य देबेन्द्रराज कंडेलको इशारामा पश्चिम नवलपरासी पुगेर त्यहाँ पनि देउवा पक्षिय कार्यकर्ता भेटघाट गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट, बेलाटारी र परासीमा समेत चौधरीले देउवा पक्षका कार्यकर्तालाई मात्र भेटेको भन्दै उनको आलोचना भएको छ । गत ४ दिनको अबधिमा चौधरीले पुर्वी र पश्चिम नवलपरासीमा भेटघाट तिब्र पारेका हुन् ।
उनको भेटघाटले बेरोजगार युवाहरु उत्साहित भएका छन् भने पुराना संघर्षले खारिएका नेताहरु भाग खोस्न आएको भन्दै असन्तुष्ट रहेको कांग्रेसकै कार्यकर्ताले बताएका छन् । चौधरी पार्टीको कुन पदमा आउन चाहेका हुन् भनेर आफैले खुलाएका छैनन् । आसन्न १४ औँ महाधिबेशनमा केन्द्रीय समितिको उपाध्यक्षमा रुचि राखेर कांग्रेस कार्यकर्तासंग भेटघाट शुरु गरेको उनी निकटस्थहरु बताउछन् ।