सुशील सुवेदी
स्याङ्जा , २० जेठ
स्याङ्जामा कार्यरत प्रहरी हवल्दारको कारोना संक्रमणको कारण निधन भएपछि स्याङ्जाका प्रहरीहरुले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका अर्जे घर भई स्याङ्जाको रत्नपुर प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार अस्मित पोख्रेलको गत श्रावण २५ गते निधन भएको थियो ।
प्रहरी अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएका पोख्रेलको परिवारलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
रुपेन्दीही जील्लाको मणिग्राम स्थित स्व.पोख्रेलको परिवार बस्दै आएको डेरामा पुगी पूर्व प्रहरीहरुको उपस्थितमा नगद हस्तान्तरण गरिएको हो । ड्युटी को शिलशिलामा कोभिड भई निधन भएकोमा गहिरो समबेदना प्रकट गर्दै प्र.उ बोगटीले भने , ‘बच्चाबच्चीको भविष्यको लागि आर्थिक सहयोग सहित अन्य सहयोग गर्न पनि पहल गर्नेछौँ । ’
स्वर्गीय पोख्रेलका ५ वर्षीय र १० वर्षीय दुई बालबच्चा को शिक्षालाई सहयोग हुने गरी चार लाख एक हजार एक सय एघार रुपैँया हस्तान्तरण गरिएको हो । जिल्ला स्थित कार्यरत ३८८ जना प्रहरीले सहकर्मी अस्मित पोख्रेलको निधन प्रती श्रद्धांजली व्यक्त गर्दै स्वेच्छिक आर्थिक सहयोग गरेका थिए ।