सुशील सुवेदी
स्याङ्जा , माघ २३
कृषक बोधराज अर्याल भन्छन् , ‘अहिले जापानको प्रमुख शहरहरुमा नेपाली ब्राण्डको कफी , मह , सुन्तलाको जाम जापानी बजारमा लोकप्रिय बनेको छ । फार्मर्स प्यासनको नामबाट अहिले जुनारको जाम पनि थपिने भयो ।’
स्याङ्जामा उत्पादन भएको जुनारले बजार नपाएपछि यहाँका कृषकले जुनारको जाम बनाउन थालेका छन् । अमिलो जातको फलफूल खेती गर्दै आएका अब्बल कृषक बोधराज अर्यालले जुनार खेतीलाई जाम उधोगको रुपमा स्थापित गरेका हुन् । बजार नपाएर हैरान बनेका अर्यालले अहिले आफ्नै घरमा उत्पादन गरेको जाम जापानमा निर्यात गर्न थालेका छन् । पुतलीबजार ११ स्थित मायाटारीमा उत्पादान गरेको जाम फार्मर्स प्यासनको नामबाट जापानको प्रमुख शहरहरुमा बिक्री वितरण हुने गरेको कृषक अर्यालको भनाई छ ।
उनी भन्छन् , ‘जापानमा नेपाली ब्राण्डको आकर्षण छ । फार्मर्स प्यासन त्याहाँको पुरानो ब्राण्ड हो । अहिले जुनारको जाम पनि थपिने भयो ।’ यही ब्राण्डको नेपाली कफी , मह , सुन्तलाको जाम जापानी बजारमा लोकप्रिय बनेको छ । यो जाम प्रति केजी एक हजार रुपैयाँमा जापान निर्यात गर्न लागिएको हो । यसको उत्पादन लेबलिङ , प्याकेजिङ अन्तिम चरणमा पुगेको छ ।
आगामी वर्षबाट स्याङ्जामा उत्पादन हुने जुनार यहि उद्योगमा खपत हुनेछ । घर आँगनमै रोजगारी पाएकोमा स्थानीयहरु पनि खुसि भएका छन् । क्याम्पस पढ्दै घर अाँगनमा काम गर्न पाउँदा आँफूहरु निकै हर्षित भएको अनुसा अर्याल बताउँछिन् । उनी भन्छिन् , ‘पढाई सँगै कृषि काम गर्ने र पैसा कमाउने माध्यम स्वदेशमै बन्छ भने बिदेश जान पर्दैन । ’
जिल्लामा औँसा किराको प्रकोप बढेको र जुनार खोल्स्याउन गाह्रो हुने कारण जिल्लामा जुनार उत्पादनमा गिरावट आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोनका प्रमुख माधब लम्सालको भनाई छ । कृषि उत्पादनलाई प्रोत्सहान गर्दै निर्यातको वातावरण अझ सहज बनाउसके युवा पुस्तामा पनि कृषि क्षेत्रको आकर्षण बढ्ने देखिन्छ ।