अटोमा खसेको पैसा चालकले दिए फिर्ता
सुदीप सुवेदी
वालिङ , जेठ २०
सवारी साधनमा खसेको मोबाईल तथा पैसा फेला पार्न मुस्किल हुन्छ । अझै सार्वजनिक सवारी साधनमा झर्ने र चढ्ने यात्रुको संख्या धेरै हुनेभएकोले कुनै बहुुमूल्य सम्पती हरायो भने पुन पाउने आशा मर्छ ।
बिहीबार वालिङ १ रामबाच्छाका ७८ वर्षीय ढग बहादुर गुरुङलाई पनि यस्तै भयो । नेपाल एस बि आई बैकबाट पैसा निकालेर अटोमा चढेका गुरुङ घरमा पुगेर पैसा खोज्दा भेटेनन् । उनले हराएको ४३ हजार नगद र नेपाल एस बि आई बैकको चेक भेट्टाउने आश मारिसकेका थिए ।
गाउँनगर यातायात प्रालीबाट संचालित लु १ घ ३६८६ नं का चालक श्याम बिकले उक्त पैसा आफ्नै अटोमा फेला पारेर गुरुङलाई फिर्ता गरेका छन् । बिक भन्छन् , ‘अर्के यात्रुले खसेको पैसा टिपेको देखेपछि सोधपुछ गरेँ । त्यही यात्रुको भनेर पत्यार लागेन बुझ्दै जाँदा गुरुङ बुवाको रहेछ । ’
बिकले वालिङ ८ जैसी पँधेरा स्थित गाउँनगर यातायातको कार्यालयमा ट्राफिक प्रहरीको रोहोबरमा ४३ हजार नगद र चेक फिर्ता गरेका हुन् । उक्त रकम र चेक पाएपछि गुरुङ भन्छन् , ‘आश मारेको पैसो आयो । अझै पनि हाम्रो समाजमा उदार छाती भएका युवाहरु रहेछन् । ’