जनप्रतिनिधी शासन गर्न होइन सेवा गर्नका लागि हो—नगर प्रमुख खाँड

गोपाल जिटी २० जेठ, २०७९,

स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडले जन प्रतिनिधीहरु शासन गर्नका लागि होइन, सेवा गर्नका लागि जनताले चुनेको बताउनु भएको छ । वालिङ हस्पिटल प्रा. लि.द्वारा शुक्रबार आयोजित नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा सम्मान कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख खाँडले जन प्रतिनिधीहरु शासन गर्न नभएर, सेवाका लागि जनताले चुनेको बताउनु भएको हो । उहाँले जनताहरु मालिक र जन प्रतिनिधीहरुले सेवा गर्ने भरिया हौं भन्ने सोंच राख्नुपर्ने व्यक्त गर्नुभयो । विचार, सोंच र व्यवहारमा स्वस्थ रहनका लागि हामीले आँफ्नो स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने प्रमुख खाँडले उल्लेख गर्नुभयो । नगरप्रमुख खाँडले भन्नुभयो “हामी जुनसुकै पार्टीबाट उम्मेदवारी दिएर चुनिएका भएपनि नगरवासीको साझा सेवक भएर काम गर्नुपर्छ । यसका साथै व्यक्तिगत जीवन र पार्टीभन्दा माथि उठेर सेवामा लाग्नुपर्छ, नवनिर्वाचित साथीहरुलाई सेवककारुपमा काम गर्न आग्रह गर्दछु ” । कार्यक्रममा गह्रौं प्राथमिक अस्पताल वालिङका प्रमुख डा. विनोद पौडेल, ९ नम्वर वडा अध्यक्ष अमृत श्रेष्ठ, ११ नं. वडा अध्यक्ष डण्डु पँगेनी लगायतले निजी लगानीमा हस्पिटल सञ्चालनमा ल्याएर स्वास्थ्य सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै थप सेवा विस्तारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख तथा उप प्रमुखसँगै १४ वटै वडाका अध्यक्षहरुलाई स्वागत, सम्मानका साथै बधाई ज्ञापन गरिएको थियो । २०७५ सालदेखि ३ करोडको लगानीमा सञ्चालनमा ल्याइएको वालिङ हस्पिटलमा ९७ जना शेयर सदस्य रहेका छन् । हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रम शेयर सदस्य हेमप्रसाद गैह्रेको स्वागत र प्रचार प्रसार संयोजक ताराप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.