सुशील सुवेदी
स्याङ्जा , १३ साउन
अधिकाशं कृषकको गुनासो एउटै हुन्छ ,‘न कृषकले राम्रो मुल्य पाउँछन् , न उपभोक्तालाई सहुलियत हुन्छ । मोटाउने त बिचौलिया नै हो ।’
यही समस्यालाई अन्त्य गर्न फेदीखोला गाउँपालिकाले प्रत्येक वडामा सहकारी मार्फत तरकारी तथा फलफूल संकलन तथा बिक्री केन्द्रको स्थापना गरेको छ । पालिकाले २६ जातका तरकारी तथा फलफूलको न्युनतम समर्थन मूल्य तोकेको छ । कृषकले सोही मूल्यमा आफ्नो उत्पादन केन्द्रमा बिक्री गर्न पाउनेछन् । कृषकले बिक्री गरेको मूल्यमा पालिकाले १५ प्रतिशत थप नगद अनुदान दिने गरेको छ । यही अभियानले यहाँका कृषक मात्र होइन उपभोक्ताले पनि सहुलियत मूल्यमा ताजा तरकारी उपभोग गर्न पाएका छन् ।
‘बिचौलियाले खाने मूल्य केही कृषकले पाएका छन् , केही उपाभोक्तालाई सहुलियत भएको छ ।’ फेदीखोला २ का होटेल व्यवसायी कृष्णमान श्रेष्ठ भन्छन् , भारतबाट आउने विषादी हालेको तरकारी भन्दा आफ्नै पालिकाको उत्पादन प्रयोग गर्न थालेका छौँ ।
फेदिखोला गाउँपालिकाले संचालनमा ल्याएको कृषि एम्बुलेन्स प्रत्येक वडाको संकलन केन्द्रमा पुगेर तरकारी संकलन गर्ने गरेको छ । परीणाम धेरै भए कृषकको खेतमा नै कृषि एम्बुलेन्स जान्छ । यो अभियानले गाउँ गाउँमा तरकारी खेती गर्ने कृषकको आकर्षण बढेको छ । बाँझो जमिनमा खेती गर्ने कृषकलाई नगद अनुदान कार्यक्रमले बाँझो जग्गा हरियाली हुन थालेका छन् । साठी हजार भन्दा बढी बिरुवा उत्पादन गर्ने कृषकलाई हाइटेक नर्सरीको टनेल वितरण गरिएको छ ।
अहिले पालिका भित्र ७ वटा तरकारी पकेट क्षेत्र व्लक र एक नमुना कृषि गाउँको कार्यक्रम संचालन भएका छन् । २०७४को स्थानीय सरकार आएपछि संचालित कृषिको नमुना कार्यक्रमले वार्षिक ६ करोड भन्दा बढीको तरकारीजन्य वस्तु पालिका बाहिर निर्यात भएको गाउँपालिका अध्यक्ष घनश्याम सुबेदी बताउँछन् । सुवेदी भन्छन् , ‘काम गर्ने कृषकलाई कुनै अभाब हुन दिँदैनौ । अनुदान खान पल्केका नक्कली कृषक र बिचौलियाको अन्त्य गर्छाैँ ।’ उत्पादनमा आधारीत १५ प्रतिशत नगद अनुदान कार्यक्रममा करिब दुई हजार कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।
यस वर्षदेखि तरकारी ब्लकको कार्यक्रम संघ सरकारबाट कटौती हुँदा उत्साहित कृषक भने मारमा परेका छन् । ‘स्याङ्जामा गत वर्ष संचालित २ वटा पकेट क्षेत्रमा मात्र काम भयो । अहिले संघले बजेट काट्यो । ’, कृषि ज्ञान केन्द्रका योजना अधिकृत गुरु प्रसाद अर्यालले बताए । यस अघि वालिङ नपा १ त्रियासी र फेदीखोला १ सर्केटारीमा पकेट कार्यक्रम लागू भएको अर्यालको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ भन्छिन् , ‘उच्च प्रविधिको प्रयोग गर्दै निर्वाहमुखी पेशाबाट व्यवसायिक कृषक बन्न सके यो पेशा मर्यादित बन्नेछ । ’ फेदीखोलमा उत्पादन भएको कृषिजन्य वस्तु फेदीखोला बासीले नै सहुलियत दरमा नै उपभोग गर्न पाउने पालिकाको लक्ष्य रहेको गुरुङको भनाई छ । युवा उद्यम कार्यक्रम मार्फत नयाँ सोँच भएका युवालाई यस क्षेत्रमा आकर्षित गर्न सकिने गुरुङ बताउँछिन् ।
सामूहिक उद्यम गर्न चहाने ५ जनाको समुहलाई युवा उद्यम कार्यक्रम अन्तर्गत विना व्याज विना धितो पाँच लाख सम्म लगानी गरिने अभियान पालिकाले संचालन गरेको छ । यो कार्यक्रम लागू भए पश्चात ३१ वटा समुहलाई झण्डै डेढ करोड रकम वितरण गरिएको छ । वैदेशिक रोजगारबाट फर्किएका कृषकलाई प्राथमिकतामा राखेर यो कार्यक्रम संचालनमा ल्याइएको हो । नाफाको आधारमा पाँच वर्षभित्र उक्त रकम पालिकालाई फिर्ता गर्ने गरी युवाहरु यस कार्यक्रममा समावेश हुन सक्नेछन् ।
पालिका भित्रको दुइ हजार रोपनी भन्दा बढी बाँझो जमिनमा कृषि व्यवसाय सुरु भएको छ । बाँझो रहेको आफ्नै जमिनमा कृषि गर्ने कृषकले एक सिजनको प्रति रोपनी दुई हजार अनुदान पाएका छन् । भाडामा लिएर व्यवसाय गर्ने कृषकले पच्चिस सय नगद अनुदान पाउने गरेका छन् । यो कार्यक्रममा छ सय पचास बढी कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।
कृषिजन्य वस्तुको प्रोत्सहान गर्न वडा नं १ को सर्केटारीमा कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था मार्फत संकलन तथा बिक्री केन्द«को शुभारम्भ गरिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने भएको कारण बाटोमा हिँड्ने यात्रुलाई पनि लक्षित गर्दै ताजा तरकारी बिक्री गरिने सहकारीका अध्यक्ष विष्णु प्रसाद सुवेदीले बताए ।
बिचौलियाको अन्त्य हुँदा कृषकले राम्रो मूल्य र बजार पाएका छन् भने उपभोक्ताले आफ्नै पालिका भित्र उत्पादन भएको ताजा तरकारी सहुलियत मूल्यमा उपभोग गर्न पाएका छन् ।