फेदीखोला गाउँपालिका स्याङ्जामा जनप्रतिनीधिले नै गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी लगाएपछि गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिका प्रांगणमा टेवल राखेर काम गर्न थालेका छन् ।
कार्यपालिका बैठक आह्वान नगरेको लगायत विभिन्न मागहरु राख्दै नेपाली काँग्रेसबाट निर्वाचति जनप्रतिनीधिहरुले बुधबार अध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए । कार्यपालिका बैठक आह्वान नगरेको, करारका कर्मचारीको आफूखुसी म्याद थप गरेको, आवश्यक समितिहरु गठन नगरेको लगायत विभिन्न १२ वटा मागहरु समेटेर गाउँ सभा सदस्यहरुले ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिका अध्यक्ष सुवेदीले भने ज्ञापनपत्रमा उल्लेखित विषय लगायत अन्य प्रस्ताव सहितको कार्यपालिका बैठक बहिष्कार गरेपछि समस्या सृजना भएको बताए । ‘भदौ १ गते राखिएको कार्यपालिका बैठकमा आफ्ना तर्कहरु पेश गर्नुको सट्टा असन्तुष्ट गाउँसभा सदस्यहरु अमर्यादित तवरले बैठक नै बहिष्कार गर्नु भयो’ सुवेदीले भने ,‘त्यस लगत्तै भोलिपल्ट र पछि तारान्तर बैठक बोलाउँदा पनि उहाँहरु आउनुभएन ।’ आवश्यक समितिहरु गठनका लागि गाउँसभा तथा अघिल्ला कार्यपालिका बैठकमा नाम प्रस्ताव गर्दा निर्णय दिन नसकेको हाल समितिहरु नै गठन नगरेको भनेर ज्ञापनपत्रबाजी गर्नु हाँस्यास्पद भएको अध्यक्ष सुवेदीको तर्क रहेको छ ।
गाउँपालिकाका प्रवक्ता अविलाश गुरुङले छलफल, जानकारी तथा अल्टिमेटम बिना सबैको साझा कार्यकक्षमा ताला लगाउँदा जनताको नैर्सगिक अधिकार हनन भएको बताए । ‘गाउँपालिकाले विभिन्न विचार तथा जनताको प्रतिनीधित्व गर्ने भएकाले मतभेद, बहस हुनु स्वभाविक र जायज हो’ । प्रवक्ता गुरुङले भने ‘तर बैठक नै बहिष्कार गरेर, तालाबन्दी गरेर आफ्नो असन्तुष्टि एवम् फरक मत राख्नु लज्जाको विषय हो ।’ बैठक र छलफल बिना तालाबन्दी गर्नुले स्वयम जनप्रतिनीधिद्वारा नै गाउँपालिका बद्नाम हुन पुगेको बताए । तालाबन्दी छोडेर असन्तुष्ट पक्ष छलफलमार्फत समन्वय र सहकार्यमा आउन प्रवक्ता गुरुङले आह्वान गरे । अध्यक्षको कार्यकक्षमा तालाबन्दी भएपनि सेवा प्रवाह नरोकिएको गाउँपालिका स्रोतले बताएको छ ।
गाउँपालिका अध्यक्ष सुवेदीले असन्तुष्ट समुहका तर्फबाट प्रतिनीधि कृष्णबहादुर रानाभाटसँग छलफल गर्नका लागि समन्वय भइरहेको बताएका छन् ।
नेकपा एमाले र नेपाली काँग्रेस गरि दुई दलको प्रतिनिधित्व रहेको गाउँपालिकामा बहुमत नेपाली काँग्रेसको रहेको छ ।