तर, बढ्दो शहरीकरण र गाउँ—गाउँमा सडक पुगेसँगै बेलको संरक्षण हुन सकेको छैन । नेवार समुदाय र हिन्दु धर्मावलम्बीको महत्व बोकेको बेललाई संरक्षण गर्नुपर्ने विषयमा कसैको आवाज पुग्न सकेको छैन ।
सुशील सुवेदी
स्याङ्जा , १९ माघ
कानुनले महिलाको उमेर २० वर्ष भएपछि मात्र बिहे गर्न छुट दिएको छ । तर , नेवार समुदायमा भने रजश्वला हुनुपूर्व कन्याको विहे गर्ने प्रचलन छ । त्यो , विहे कुनै पुरुषसँग नभई बेलसँग हुने गर्दछ । जसलाई ‘इहि’ अर्थात बेल विवाह भन्ने गरिन्छ । यो प्रचलन परापूर्वकालदेखि चलिआएको भएपनि पछिल्लो समय युवा पुस्तामा आकर्षण घट्दो छ । स्याङ्जाको वालिङमा भने नेवार समुदायको कला संस्कृति संरक्षण गर्न बेला बेलामा युवा पुस्तालाई प्रशिक्षण दिने र कार्यक्रममा सहमागि गराउने गरिएको छ ।
यस वर्ष पनि वालिङ ९ भुम्रेका नेवार समुदायले सामुहिक बेल विवाह गरेका छन् । देशका विभिन्न जिल्लाका ५० भन्दा बढि कन्याले बेल विवाहमा सहभागीता जनाएको बेल विवाह आयोजक समितिका संयोजक तारा प्रसाद श्रेष्ठको भनाई छ । श्रीमान्को मृत्यु भएमा श्रीमती सती जानुपर्ने प्रथा रोक्न ‘इहि’ अर्थात बेल विवाह गर्ने प्रचलन परापूर्बकाल देखि चलि आएको कथन श्रेष्ठ बताउँछन् ।
श्रेष्ठ भन्छन् , ‘जात्रा , लाखे नाच र बेल विवाह हाम्रो संस्कृति हो । यसको संरक्षण गर्न युवा पुस्तालाई पनि कार्यक्रममा सहभागी गराउने र बेलबेलामा प्रशिक्षण प्रदान गर्ने गरेका छौँ । ’
नेवारहरुको बाक्लो बस्ती रहेको वालिङ—९ भुम्रेमा प्रत्येक वर्ष लाखे नाच र जात्राहरु प्रदर्शन गरिँदै आइएको छ । नयाँ युवाहरुलाई यसमा सहभागी गराउने भुम्रे नेवा समाजको अभियान छ ।
प्रत्येक २ वर्षमा भने सामुहिक बेल विवाह आयोजना गरिन्छ । यो विवाहमा रजश्वला हुनुपूर्वका सयौँ कन्याहरु सहभागी हुने गर्दछन् । बेल विवाह गर्ने बालिका दिनभरि व्रत बसेर बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआरधना गर्दछन् । बेलको डल्लोलाई श्रीमान्को प्रतिक मानेर विधिवत् रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाकालाई बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न भएको मानिन्छ । नेवार समुदायमा चारदेखि आठ वर्षको उमेरका कन्यहरु इहि संस्कारमा बाँधिएको हुन्छन् । हिन्दु धर्म अनुसार बेललाई विष्णु भगवानको प्रतिक मानिन्छ । त्यसैले , नेवार महिलाको विवाह भगवान विष्णुसँग भइसकेकोले ऊ कहिल्यै विधवा हुन्न भन्ने धारणा रहेको छ ।
यस्ता संस्कार र संस्कृतिको विधि आँफूहरुले अग्रजसँग सिक्न पाएकोमा युवा पिडी पनि खुशी छन् । प्रत्येक वर्ष जात्रा , लाखे नाच र बेल विवाहको महत्व सिकाईन्छ वालिङ—९, भुम्रेकी प्रकृति श्रेष्ठले बताईन् । तर ‘हामिलाई संगीतसँग अभ्यस्त गराउन सकिएको छैन’, श्रेष्ठले गुनासो गरिन् ।
तर, बढ्दो शहरीकरण र गाउँ—गाउँमा सडक पुगेसँगै बेलको संरक्षण हुन सकेको छैन । नेवार समुदाय र हिन्दु धर्मावलम्बीको महत्व बोकेको बेललाई संरक्षण गर्नुपर्ने विषयमा कसैको आवाज पुग्न सकेको छैन ।
युवा पुस्तामा कला संस्कृतिको मोह घट्दै गएपनि स्याङ्जाका नेवार समुदायले यसको संरक्षण र पुस्ता हस्तान्तरणमा चासो दिएका छन् । यसलाई सकाईका रुपमा सबै समुदायले लागू गुर्नपर्ने संस्कृतिबिदहरुको बुझाई छ ।