जन प्रतिनिधिहरु बोल्ने समय होइन, काम गर्ने समय भएको वालिङ नगर प्रमुख कृष्ण खाँडले बताउनु भएको छ । वालिङमा आयोजित भू—उपयोग तथा योजना तर्जुमा सम्बन्धी दुइदिने कार्यशाला गोष्ठीको मंगलबार समापन गर्दै नगर प्रमुख खाँडले जन प्रतिनिधिहरु अब बोल्ने समय नभएको भन्दै काम गर्ने बेला भएको बताउनुभएको हो ।
वालिङ नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू—उपयोग योजना नियमावली तथा भवन मापदण्ड कार्यान्वयन एवम् योजना तर्जुमा सम्बन्धी कार्यशाला कार्यशाला गोष्ठी नगरलाई अगाडि बढाउन मार्गदर्शक भएको उहाँले बताउनुभयो । नगरक्षेत्रका जग्गाको वर्गीकरणको काम सम्पन्न गरेपछि जानकारी गराउने र भू—उपयोग कसरी गर्ने भन्ने सुझाव लिने उद्देश्यले आयोजित कार्यशाला गोष्ठी फलदायी भएको उहाँले औंल्याउनुभयो ।
नीतिगत कुरा र कार्यान्वयन पक्ष दुबै महत्वपूर्ण रहन्छ तर नीतिगत कुराले कतिपय काम गर्न समस्या पारेको नगर प्रमुख खाँडले बताउनुभयो ।
चल र अचल गरी दुई किसिमका सम्पत्ति हुन्छन्, त्यसमध्ये जनप्रतिनिधि तथा समाजसेवीहरु चल सम्पत्ति भएको नगर प्रमुख खाँडले व्यक्त गर्नुभयो । यो चल सम्पत्तिले भरपूर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सबै मिलेर काम गर्नुपर्ने भन्दै आँफूले अरुलाई पछाडि राखेर होइन, अगाडि लगाएर काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो—“म अरुलाई पछाडि राखेर होइन अगाडि लगाएर र सबैसँग सल्लाह गरेर काम गर्ने छु ।”
कृषि उत्पादनमा जोडदिनुपर्ने सहभागीहरुको सुझाव सराहनीय भएको उल्लेख गर्दै नगर प्रमुख खाँडले आगामी दिनमा उत्पादनका आधारमा अनुदान प्रदान गरिनेसमेत बताउनुभयो । उहाँले वैशाख १ गतेपछि कित्ताकाटको काम सुरु गरिनेसमेत जानकारी गराउनुभयो ।