headline 1गण्डकीबिश्वस्वास्थ्य

गर्भवती महिलालाई उपाध्यक्ष ‘सावित्रा’ को निमन्त्रणा

कोईराला भन्छिन् , ‘गर्भवती महिलाले पालना गर्नुपर्ने २१ वटा सुचकको व्यानर पनि गर्भवती महिलाको घरघरमा टाँस गरेको छौ। ’

गर्भवती महिलालाई उपाध्यक्ष ‘सावित्रा’ को निमन्त्रणा
सुशील सुवेदी
स्याङ्जा , पुस २५
‘गर्भवती हुनुभएकोमा हार्दिक बधाई , तपाई र गर्भमा हुर्कीरहेको बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि नियमित चेक जाँच र सुत्केरी हुनको लागि नजिकैको स्वास्थ्य संस्थामा आउनुहुन निमन्त्रणा छ ।’ कालीगण्डकी गाउँपालीका उपाध्यक्ष सावित्रा कोइरालाले वडा नं २ लसर्घाकी बसन्ती रानालाई दिइएको निमन्त्रणा यस्तै थियो ।

अहिले यो कार्यक्रमलाई पालिकाले अभियानको रुपमा सुरु गरेको छ । पालिकाभित्र रहेका ८२ जना गर्भवती महिलालाई यसरी नै अस्पतालबाट प्रसूति सेवा लिन कालीगण्डकी गाउँपालिकाले निमन्त्रणा गरेको हो ।

उपाध्यक्षसँग गर्भवती घरभेट कार्यक्रम अन्तर्गत मातृ शिशु स्वास्थ्य तथा पोषण प्रवद्र्धनका लागि यो अभियान संचालन गरिएको उपाध्यक्ष कोइराला बताउँछिन् । उनी भन्छिन् , ‘गर्भवती महिलाले पालना गर्नुपर्ने २१ वटा सुचकको व्यानर पनि गर्भवती महिलाको घरघरमा टाँस गरेको छौ। ’ सचेतनाको माध्यमबाट अस्पतालमा नै सुरक्षित प्रसूति गराउन यो कार्यक्रम प्रभावकारी हुने पालिकाको दाबी छ ।
बिहान बेलुका भित्र बाहिर गर्दा यो सुचक देखिने भएकोले पालना गर्न गर्भवती महिला र परिवारलाई पनि उत्साहित गराउने कोईरालाको बताउँछिन् ।
गाउँघरमा अझै पनी गर्भवती महिलाले घाँस दाउरा गर्नुपर्ने बाध्यता रहेको बताउँदै कोइराला भन्छिन् , ‘ गर्भवती महिलालाई सासु—ससुरा र समाजले माया र स्नेहले हेर्ने विश्वास लिएका छौँ।’
गर्भवती महिलाहरुले नियमित आइरन क्याल्सियम नखाने र स्वास्थ्यमा खेलबाड गर्ने समस्या ग्रामीण क्षेत्रका महिलामा विद्यमान रहेको उनको बुझाई छ । नेपाल सरकारले आइरन निशुल्क गरेको भएपनि क्याल्सियम महँगो पर्ने भएकोले किन्नुपर्ने समस्या छ । तर , कालीगण्डकी गाउँपालीकाले क्याल्सियम पनि निशुल्क गरेको छ ।

पूर्वाधार विकास सँगै नागरिकको स्वास्थ्यमा आँफूहरु सचेत रहेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाको भनाई छ । गाउँपालिका भित्र रहेका ४७ सय घरधुरीका सबै नागरिकलाई निशुल्क स्वास्थ्य विमा लागू गरिएको छ । थापा भन्छन् , कसैले पनी स्वास्थ्य विमाको पैसा तिर्नुपर्दैन , सवै नगरिकको बीमा वापतको रकम पालिकाले जिम्मा लिएको छ । ’
घरघरमा ल्याव सेवा संचालन गरेर गाउँगाउँमा स्वास्थ्यको पहुँच पुर्याएको र अहिले पोषण मैत्री पालिका घोषणा गर्न यस्ता कार्यक्रम अघि सारिएको थापा बताउँछन् ।
शुन्य घरमा सुत्केरीको लागि पालिकाले निशुल्क एम्बुलेन्स सेवो संचालन गरेको छ । सुरक्षित सुत्केरी गराउन पालिकाभित्र ५ वटा वर्थिङ सेन्टर संचालनमा ल्याइएको छ ।
यस्तै कुपोषित बच्चा शुन्यमा झार्न पालिकाले अण्डा र सर्वोत्तम पिठो वितरण गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिएको छ ।
‘अहिले हामीसँग ९ जना मध्यम कुपोषित र २ जना अति कुपोषित बच्चाहरु छन् । उनीहरुलाई शुन्यमा झार्न पोषणमैत्री कार्यक्रम अघि सारेका छौँ । ’ पालिकाकी सिनियर अहेब बुद्धिसरा भण्डारीले बताईन् ।
गर्भवती महिलालाई आइरन क्याल्सियम तथा पोषणयुक्त आहार सेवन , घर तथा समाजमा स्नेह व्यवहार र सुरक्षित सुत्केरी गराउन यो अभियान प्रभावकारी रहेको पालिकावासीको बुझाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.