डिएसपी हबारीको रगत परियारलाई
सुशील सुवेदी
स्याङ्जा , मंसिर २८
पर्वत जिल्ला पैँयु गाउँपालिकाकी — १९ , वर्षीय अन्जली परियारलाई प्रसव पिडा भएपछि बुधबार विहान ८ बजे गह्रौ प्राथमिक अस्पताल वालिङ ल्याईयो । नर्मल डेलिभरी सफल भयो ।
बिहीबार उनको उच्च रक्तश्राव भएपछि ब्लड लेभल ६ ग्राममा घट्यो । परियारलाई रगतको आवश्यक पर्यो । गत भदौ १९ गतेबाट गह्रौ प्राथमिक अस्पतालमै रगत संकलन केन्द्र संचालनमा ल्याइएको थियो । तर , परियारको रगत बि पोजेटिभ भएको कारण संकलन केन्द्रमा यो रगत पाइएन ।
प्रहरी युनीटमा खवर गर्दा एकै पटकमा धेरैसँग सम्पर्क हुनेभएपछि अस्पतालका स्वास्थ्यकर्मीले वडा प्रहरी कार्यालय वालिङमा फोन हाने ,‘बि पोजेटिभ रगतको आवश्यक्ता भएको छ , कुनै प्रहरीसँग यस्तो रगत छ भने सहयोग गरिदीनुपर्यो । ’
वडा प्रहरी कार्यालय वालिङका प्रमुख (डिएसपी) इकबाल हबारीले उक्त फोनमा जबाफ फर्काए ,‘मेरो रगत पनि बि—पोजेटिभ नै हो , मैले दिए हुन्न र मै दिईहाल्छु नी ।’
हबारीले रगत दिएपछि परियार र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको ल्याब अशिस्टेन्ट ईश्वर कोईरालाले बताए ।
अहिले गह्रौ प्राथमिक अस्पतालमा दैनिक ५ देखि ६ जना डेलिभरी हुने गरेको कोईरालाको भनाई छ । भदौ यता गह्रौ प्राथमिक अस्पतालको रगत संकलन केन्द्रबाट ९० पोका रगत खपत भएको छ । अपरेशन मार्फत सुत्केरी सेवा –सिएस , रगत संकलन केन्द्र र दक्ष जनशक्ती भएको कारण यो अस्पतालले छिमेकी जिल्ला पर्वत र पाल्पाका बिरामीलाई पनी सहज बनाएको छ ।
ग्रामिण भेगमा उमेर नपुग्दै भागी विहे गर्ने प्रवृति छ । जसको कारण समय नपुग्दै सुत्केरी हुने महिलाहरुमा उच्च रक्तश्रावको सम्भावना हुने स्वास्थयकर्मी बताउँछन् ।