मेरो दृष्टि संवाददाता
स्याङ्जा ,असार १
क्षेत्रि समाज वालिङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय अखण्डता र जातीय सदभावका निम्ति क्षेत्रि एकता आजको आवश्यकता भन्ने नाराका साथ अगाडि बढेको समाजले शनिबार वालिङमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्दघाटन गण्डकी प्रदेशका सांसद तथा अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले वालिङ ८ का वडा अध्यक्ष दामोदर तिवारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै उद्दघाटन गर्नुभएको हो ।
कार्यक्रम उद्दघाटनका क्रममा सभापति अर्यालले वालिङमा प्रदेशस्तरको अस्पताल बनाउन पहल गरिएको बताउनुभएको छ । मेजर अपरेशनका लागी पोखरा र पाल्पा जानुपर्ने यहाँका नागरिकको बाध्यतालाई हटाउन वालिङमा प्रदेशस्तरीय अस्पताल स्थापनाकोे लागी आँफू अगाडि बढेको बताउनुभएको हो । साथै उहाँले समाजले जिवनदान गर्ने कार्यक्रमको आयोजना गरेर निकै सराहनीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा क्षेत्रि समाज वालिङका संस्थापक कृष्णबहादुर थापाले समाजले आफ्नो समुदायको विकासका साथै समाजलाई सकरात्मक प्रभाव पार्ने खालका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।
रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक गणेश राउतले बताउनुभयो । १५ जना पुरुष र ११ जना महिलाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्त सञ्चार केन्द्र स्याङ्जामा ए बि पोजेटिभ र ओ पोजेटिभ रगत अभाव भएकाले केन्द्रको प्राविधिक सहयोगमा यो कार्यक्रम गरिएको कार्यक्रम संयोजक राउतले बताउनुभयो । कार्यक्रम क्षेत्रि समाजका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।