सुशील सुवेदी
स्याङ्जा,साउन ०४
गत आर्थिक वर्ष ०८० / ०८१ मा स्याङ्जामा अन्य मुद्धा भन्दा सम्बन्ध विच्छेदको मुद्धा ५७ प्रतिशतले बढि दर्ता भएको छ । ९५२ दर्ता भएका मुद्धा मध्ये ४६५ मुद्धा सम्बन्ध विच्छेदको रहेको छ ।
वादीले ल्याउने फिरादको तथ्याङ्क अनुसार वैदेशिक रोजगार र सामाजिक संजालको दुरुपयोगको कारण यस्ता मुद्धाहरुमा वृद्धि भएको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार, भूमी प्रसाद शर्माले जानकारी दिए ।
यस्तै , वैवाहिक सम्बन्धको अन्त्य गर्न माग गर्दै मुद्धा दर्ता गर्नेको संख्या ८५ छ । स्याङ्जामा गत वर्ष मात्र ९५२ मुद्धा दर्ता भएका थिए । जसको ५७ प्रतिशतले सम्बन्ध विच्छेद माग गरेको जिल्ला अदालत स्याङ्जाले विहीबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
पछिल्लो समय यसरी सम्बन्ध विच्छेदका मुद्धामा वृद्धि हुँदा समाजमा अराजगता बढेको छ भने पुरुषहरुमा बैदेशिक रोजगारको यात्रा फलामको चिउरा बन्ने गरेको छ । विदेश नजाउँ त घर परिवार पाल्नुपर्ने बाध्यता जाउँ त श्रीमती रहने हो की होईन , पिरलो ।
स्याङ्जाले धेरै मुद्धा छिटो फैसला गरेको कारण सेवाग्राहीले पनि झन्झट बेहोर्नु परेको छैन । जिल्लामा मुद्धा दर्ता भएको १८ महिना नाघेको २ वटा मुद्धा मात्र छन् भने २ वर्ष नाघेको मुद्धा शुन्यमा झरेको छ ।
२०८० कार्तिक १२ गते स्याङ्जा जिल्ला अदालतमा ८ सय १५ र त्यस अघि जिल्ला अदालत काठमाडौंमा १ सय ७८ मुद्धा फैसला गरेको कारण जिल्ला अदालत स्याङ्जाका न्यायधीश बासुदेब पौडेललाई धेरै मुद्धा फैसला गरको भन्दै उच्च अदालतले सम्मान समेत गरेको छ ।
अधिकाशं वादीहरु मुद्धा दर्ता गर्न आउँदा ७२ थरीको निवेदन वेभसाईट बाट प्राप्त गर्न सकिने ज्ञान नभएको कारण झन्भट बेहोर्नु परेको पौडेलको भनाई छ ।
उनी भन्छन् , ‘हेल्प डेस्क मार्फत निशुल्क कानुनी सल्लाह दिने गरिएको छ तर सेवाग्राही कानुन व्यवसायी खोज्दै हिँड्ने कारण आर्थिक भारमा पर्ने गरेका छन् । ’
जिल्ला अदालत स्याङ्जाले गत आर्थीक वर्षमा जिम्मेवारी सरी आएको मुद्धा सहित तेह्र सय पच्पन्न मुद्धा मध्ये एक हजार चार मुद्धा फछर्योट गरेको छ भने तिन सय एकाउन्न मुद्धा चालु आर्थिक वर्षलाई जिम्मेवारी सारेको छ ।
जिल्लामा मुद्धा फछर्याैटको संख्यामा छिटो छरितो भएपनि सम्बन्ध विच्छेदको संख्या वृद्धि हुनु समाजिक चिन्ताको विषय बनेको छ ।