वालिङका विषयगत शिक्षकलाई अभिमुखीकरण
सुशील सुवेदी
स्याङ्जा , पुस २३
वालिङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
एसईई परीक्षामा अपेक्षित नतिजा नआएपछि शिक्षकहरुलाई सिकाईमा सहजता प्रदान गर्न तालिम प्रदान गरिएको शिक्षा अधिकृत दुर्गा कुमरी न्यौपानेले बताउनुभयो ।
१६ वटा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यापन गराउने ८० जना शिक्षकलाई ५ वटा अनिवार्य विषयमा तालिमा प्रदान गरिएको हो ।
विज्ञान , गणित , अंग्रेजी , नेपाली र सामाजिक विषयका प्रत्येक शिक्षकलाई दुई ÷ दुई दिन अभिमुखिकरण तालिममा समावेश गराईएको शिक्षा अधिकृत गिता पाठकले जानकारी दिनुभयो ।
पुस ९ देखि संचालित कार्यक्रम २२ गते सम्पन्न भएको थियो । तालिममा प्रदेश तथा जिल्ला स्तरीय विषयगत विज्ञहरुले सहजिकरण गर्नुभएको थियो ।
पाठ्यक्रम परिवर्तन भएपछि वालिङ नगरले पहिलोपटक विषयगत शिक्षकहरुलाई तालिम प्रदान गरेको हो । यो तालिमसँगै पठनपाठनमा विद्यार्थीलाई मात्र नभई शिक्षकलाई पनि सहज हुने नगर प्रमुख कृष्ण खाँडले बताउनुभयो ।
शैक्षिक गुणस्तरमा सुधार ल्याउन र एसईईको नतिजा सुधार गर्न यस्ता कार्यक्रमलाई नगरले प्रथमिकतामा रहेको नगरउपप्रमुख कविता गैह्रेको भनाई छ ।
वालिङ नगरभित्र १६ वटा माध्यमिक विद्यालय छन् भने ५६ वटा आधारभूत विद्यालयमा ५ हजार ९९ जना विद्यार्थी अध्यायनरत छन् ।
गत एसईई परिक्षामा ४९.५६ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा शाखा प्रमुख ख्याम नारायण काफ्लेले बताउनुभयो ।