एचआईभी संक्रमितमाथिको विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक ःउपमेयर तिवारी
मुना न्यौपाने ०१÷ २९ कालिगण्डकी
स्याङ्जा — वालिङ नगरपालिकाको उपप्रमुख कविता तिवारी गैह्रे ले एचआईभी संक्रमित व्यक्तिमाथिको विभेद अन्त्य गर्न सामूहिक प्रयास अहिलेको आवश्यकता रहेको बताउनुभएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जा को आयोजनामा वालिङमा सम्पन्न एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण तथा संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उपमेयर तिवारीले एचआईभी सम्बन्धी गलत धारणा हटाउँदै संक्रमित व्यक्तिलाई समाजमा समान व्यवहार, सम्मानजनक वातावरण तथा मानवअधिकारको सुनिश्चितता गर्न सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले एचआईभी संक्रमित व्यक्तिमाथि हुने विभेद अन्त्य गरी समुदायस्तरमै सचेतना फैलाउन राज्यले गरिरहेको प्रयासलाई वालिङ नगरपालिका ले पनि प्राथमिकताका साथ अघि बढाइरहेकोले राज्यले सन् २०३० सम्म हासिल गर्ने लक्ष्यसहित अघि सारेको ९५–९५–९५ नीति पूर्ण रूपमा सफल हुनेमा आफू विश्वस्त रहेको उपप्रमुख तिवारीको भनाइ थियो। कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एचआईभी संक्रमणको वर्तमान अवस्था, रोकथामका उपाय, संक्रमित व्यक्तिप्रति समाजले गर्नुपर्ने व्यवहार तथा एचआईभी न्यूनीकरणमा क्रियाशील संस्थाहरूको भूमिकाबारे प्रस्तुतीकरण गरिएको थियो। सोही कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै वालिङ नपाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे ले एचआईभी आफैंमा घातक रोग नभए पनि समाजको विभेदपूर्ण दृष्टिकोणका कारण संक्रमित व्यक्तिहरू मानसिक तथा सामाजिक पीडामा बाँच्न बाध्य हुने गरेको बताउनुभयो। पाण्डेको अनुसार केही संक्रमित व्यक्तिले सामाजिक बहिष्कार र अपमानकै कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अझै पनि रहेको बताउँदै एचआईभी संक्रमित व्यक्तिप्रति सहानुभूति, सम्मान र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै मानवता र सम्मानको संस्कृतिलाई बलियो बनाउन अहिलेको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजना तथा वालिङ नगरपालिका को सहजिकरणमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो।






प्रतिक्रिया राख्नुहोस्