फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जेपीटी को प्रतिस्पर्धी च्याटबोट ‘ज्योया’
माधब गैह्रे बैसख २,वालिङ
स्याङ्जा, जेठ १ — फेदीखोला गाउँपालिका का विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० प्रविधिमा आधारित ‘ज्योया’ नामक च्याटबोट विकास गरेका छन्। गाउँपालिकाले आयोजना गरेको प्रथम विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रस्तुत उक्त परियोजनाले स्थानीय स्तरमै विकसित डिजिटल नवप्रवर्तनको सम्भावना उजागर गरेको छ। विद्यार्थीहरूले तयार पारेको ‘ज्योया’ च्याटबोटले प्रयोगकर्ताको निर्देशनअनुसार युट्युब, गुगल क्रोम लगायतका एप्लिकेसन सञ्चालन गर्न सक्ने दाबी गरिएको छ। विद्यार्थीहरूका अनुसार उक्त प्रणालीलाई नेपाली परिवेशअनुसार प्रयोगमैत्री बनाउने प्रयास गरिएको छ। प्रदर्शनीमा सहभागी अभिभावक, शिक्षक तथा स्थानीयले ‘ज्योया’ लाई ग्रामीण क्षेत्रका विद्यार्थीको सिर्जनात्मक क्षमताको उदाहरणका रूपमा लिएका छन्। फेदीखोला गाउँपालिका ले करिब ६ वर्षअघिदेखि “एक विद्यालय, एक आईटी शिक्षक” कार्यक्रम सञ्चालन गर्दै विद्यालयस्तरमै आईटी ल्याब र डिजिटल शिक्षाको विस्तार गर्दै आएको छ। हाल गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयमा आईटी कक्षा सञ्चालनमा छन् भने १ हजार ६ सयभन्दा बढी विद्यार्थी आईटी शिक्षामा आबद्ध रहेका छन्। गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी ले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सीमित स्रोतसाधनका बीच पनि आईटी अभियानलाई निरन्तरता दिइएको बताए। यसै अभियानको प्रभावस्वरूप फेदीखोला–२ निवासी सन्तोष पोखरेल अन्तर्राष्ट्रिय प्रविधि कम्पनी एप्पल मा आईटी व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारीमा पुगेको उदाहरण पनि गाउँपालिकाले प्रस्तुत गरेको छ। स्थानीय तहमा प्रविधिमैत्री शिक्षा विस्तारले भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्