उद्योग वाणिज्य संघ वालिङद्वारा आयोजित करदाता शिक्षा कार्यक्रम सम्पन्न
मेरो दृष्टि संवाददाता भदौ ४, वालिङ
स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघले वालिङभित्रका व्यवसायीहरूलाई एकदिने करदाता शिक्षा कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ। कर नीति, कार्यक्रम, कर छुट तथा वर्तमान कर व्यवस्थाका विषयमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले वालिङ उद्योग वाणिज्य संघले कर कार्यालय पोखराका कर्मचारीहरूको सहजीकरणमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको हो। उद्योग वाणिज्य संघको सभाहलमा आयोजित करदाता शिक्षा सम्बन्धी कार्यक्रममा स्थानीय व्यवसायीहरूलाई करसम्बन्धी कानुनी व्यवस्था, करदाताका अधिकार तथा दायित्व र व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम राखिएको उद्योग वाणिज्य संघ वालिङकी अध्यक्ष अनुपमा तिवारीले बताउनुभयो।



करसम्बन्धी जानकारीको अभावमा व्यवसायीले अनावश्यक समस्या तथा जरिवाना बेहोर्नुपर्ने अवस्था आइपरेको जनगुनासो धेरै आएपछि आगामी दिनमा यस्ता खाले समस्याको न्यूनीकरण गर्नका निम्ति करदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तिवारीले बताउनुभयो। कार्यक्रममा करदाताले जान्नुपर्ने महत्वपूर्ण विषयवस्तुहरूका साथै स्थायी लेखा नम्बर लिन आवश्यक पर्ने कागजात, कुन अवस्थामा अन्तःशुल्कमा दर्ता हुनुपर्ने, अनुमानित आय विवरण, कम्प्युटर बिलिङ प्रणाली तथा कर कानुन उल्लङ्घन गर्दा हुन सक्ने सजायलगायतका विषयमा जानकारी दिइएको थियो। यस्तै, व्यवसाय दर्ता खारेजीको प्रक्रिया तथा प्यान कसरी लिने भन्ने विषयमा पनि सहभागी व्यवसायीलाई जानकारी गराइएको थियो। करसम्बन्धी आधारभूत तथा व्यावहारिक जानकारी प्राप्त भएपछि सहभागी व्यवसायीहरूले कार्यक्रमप्रति खुसी व्यक्त गरेका थिए। आफूहरूलाई यसअघि जानकारी नभएका कतिपय करसम्बन्धी विषयबारे स्पष्ट जानकारी प्राप्त भएको बताउँदै आगामी दिनमा यस्ता खाले कार्यक्रमले निरन्तरता पाउनुपर्ने कार्यक्रममा उपस्थित व्यवसायीहरूको भनाइ छ। कार्यक्रममा स्थानीय व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमले व्यवसायीलाई करसम्बन्धी कानुनी प्रक्रिया बुझ्न, समयमै करसम्बन्धी दायित्व पूरा गर्न तथा व्यवसायको हिसाब–किताब चुस्त र दुरुस्त राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, करदाता र सम्बन्धित निकायबीचको समन्वय तथा विश्वास बढाउन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ। वालिङ उद्योग वाणिज्य संघले व्यवसायीको आवश्यकता र चासोलाई ध्यानमा राख्दै आगामी दिनमा पनि कर तथा व्यवसायसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।





प्रतिक्रिया राख्नुहोस्