नेकपा एमाले नगर कमिटि द्धरा पूर्व जनप्रतिनिधि तथा उम्मेदवारलाई सम्मान
भदौ २१,वालिङ मेरो दृष्टि सम्बादाता
वालिङ । नेकपा एमाले वालिङ नगर कमिटीले २०४९ सालदेखि २०७९ सालसम्म विभिन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्तालाई सम्मान गरेको छ। पार्टीको विभिन्न निर्वाचनमा उम्मेदवारका रूपमा अघि सारिएका नेता तथा कार्यकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई एउटै मञ्चमा भेला गराई परिचय तथा सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको हो।आइतबार वालिङमा आयोजित कार्यक्रमको उद्घाटन नेकपा एमालेकी सचिव, पूर्वमन्त्री तथा संघीय प्रतिनिधि पद्मा कुमारी अर्यालले गर्नुभयो। लामो समयदेखि पार्टी संगठन निर्माण, निर्वाचन तथा जनप्रतिनिधिका रूपमा योगदान पुर्याउँदै आएका नेता–कार्यकर्तालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर कमिटीले जनाएको छ।कार्यक्रममा बोल्दै सचिव अर्यालले पार्टीको तर्फबाट विभिन्न समयमा निर्वाचनमा उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको योगदानलाई पार्टीले सदैव सम्मान गर्नुपर्ने बताउनुभयो। निर्वाचनमा उम्मेदवार बन्नु आफैंमा पार्टीप्रतिको महत्वपूर्ण जिम्मेवारी र योगदान भएको उल्लेख गर्दै उहाँले निर्वाचनमा सफलता र असफलता दुवैबाट सिकेर संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।


उहाँले निर्वाचनमा उम्मेदवार विजयी बनाउन उम्मेदवारसँगै पार्टीको सम्पूर्ण पंक्तिको भूमिका महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा पनि पार्टी संगठनलाई जनतासँग अझ नजिक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। नेकपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलका अनुसार कार्यक्रममा २०४९ सालदेखि २०७९ सालसम्म विभिन्न निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवारका रूपमा सिफारिस तथा अघि सारिएका ५०० भन्दा बढी नेता तथा महानुभावलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। उहाँका अनुसार विभिन्न समयमा पार्टीका तर्फबाट स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूको योगदानलाई स्मरण गर्दै सम्मान गर्न लागिएको हो। कार्यक्रममा एमाले नेता चक्रबहादुर पराजुली, मोहन रेग्मी, खिमबहादुर थापा, जिल्ला अध्यक्ष पारस गैह्रे लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न निर्वाचनमा उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको परिचय गराउँदै उनीहरूले पार्टी र संगठनमा पुर्याएको योगदानको चर्चा गरिएको थियो। लामो समयको अन्तरालमा विभिन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई एउटै कार्यक्रममा जोड्ने प्रयासले संगठनभित्रको पुस्तान्तरण, अनुभव आदानप्रदान र आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सम्मानित हुनेमध्ये कतिपयले निर्वाचनमा उम्मेदवारका रूपमा पार्टीको प्रतिनिधित्व गरिसकेका छन् भने कतिपयले निर्वाचित भएर स्थानीय तहदेखि विभिन्न तहमा जनप्रतिनिधिको जिम्मेवारीसमेत निर्वाह गरेका छन्। उनीहरूको अनुभवलाई आगामी दिनमा पार्टी संगठन निर्माण र निर्वाचन रणनीतिमा उपयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, पूर्व जनप्रतिनिधि तथा विभिन्न निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूको सहभागिता रहेको थियो। वालिङ एमालेले विगतमा पार्टीका लागि योगदान गरेका नेता–कार्यकर्ताको सम्मानसँगै उनीहरूबीचको सम्बन्धलाई पुनः जोड्ने र आगामी दिनमा संगठनलाई थप एकताबद्ध तथा गतिशील बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्