स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयलको नयाँ विद्यालय भवन शिलन्यास तथा अत्याधुनिक आइसिटी ल्याब र आधिकारिक वेभसाइट शुभारम्भ भएको छ । जिल्लाको शैक्षिक हबको उद्देश्यका साथ शैक्षिक संकाय थप्दै लगेको फेदीखोला गाउँपालिकाले पालिकाका विद्यालयमा भौतिक तथा प्राविधिक पुर्वाधार बृद्धिमा जोड दिएको छ । विज्ञान र कम्प्युटर संकाय पढाउन सम्बन्धन प्राप्त गरेको विद्यालयले विद्यार्थीको चाप बढ्दै गएपछि पछिल्ला बर्षहरुमा भौतिक तथा प्राविधिक गुणस्तरलाई जोड दिएको छ ।
गाउँपालिकाको पहलमा संघ सरकारबाट विनियोजित १ करोड २५ लाखको लागत अनुमानमा निर्माण हुन गइरहेको उक्त भवनको संघीय साँसद नारायणप्रसाद मरासिनीले शिलन्यास गरेका थिए । त्यसैगरि साँसद मरासिनीकै पहलमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल दुरसञ्चार प्राधिकरणद्वारा झण्डै ५५ लाखको लागतमा निर्माण अत्याधुनिक आइसिटी ल्याबसँगै विद्यालयले निर्माण गरेको आधिकारिक वेभसाइट उद्घाटन गरिएको छ । शिलन्यास तथा उद्घाटन गर्दै साँसद मरासिनीले विद्यालयले बढाएको गुणस्तरीयता र क्रियाशिलता अन्य विद्यालयका लागि सिक्न लायक रहेको बताए । नीजि विद्यालय छाडी सामुदायिक विद्यालयमा बढ्दै गएको विद्यार्थी मोहले विद्यालयको गुणस्तरीयतालाई प्रमाणित गरेको उनको भनाई थियो । संघ सरकारले शिक्षा, स्वास्थ्य र पुर्वाधार निर्माणमा बढि लगानी गरेको भन्दै प्रतिफल दिलाउन सबै सरोकारवालाहरुले सक्दो तदारुकता देखाउनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै विशेष अतिथी तथा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकामा रहेका शैक्षिक संस्थाको गुणस्तर वृद्धिका लागि कुनै कसुर बाँकी नराखिएको बताए । ‘दक्ष जनशक्तिको व्यवस्था गरि पालिकाकै लागतमा माध्यमिक तहमा कम्प्युटर विषय अनिवार्य गर्ने महत्वकाँक्षी तथा खर्चिलो कार्यक्रम होस् वा विद्यालयको सामान्य देखि अत्याधुनिक पुर्वाधार विकास ।’ अध्यक्ष सुवेदीले भने, ‘सुरुवाती बर्षदेखि नै शिक्षाको भौतिक, प्राविधिक गुणस्तरीय बढाउन तथा प्रोत्साहनमा पालिकाले जोड दिदै आएको छ ।’ कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष देवी थापाले विद्यालयले प्राविधिक धारलाई निरन्तरता दिएकोमा थप पुर्वाधार विस्तार गर्नुपर्ने बताइन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं । २ का अध्यक्ष हिमालयजंग बाँनिया, वडा नं । १ का अध्यक्ष खिमबहादुर सुवेदी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तारापति सुवेदी, प्रधानाध्यापक मनोज कुमार शर्मा, गाउँपालिकाका प्राविधिक इन्जिनियर विजयराज क्षेत्री लगायतले बोलेका थिए । त्यसैगरि प्राविधिक धारका विद्यार्थीलाई लक्षित गरि निर्माण गरिएको अत्याधुनिक आइसिटी ल्याबमा मोर्डन जेनेरसनका ब्राण्डेड कम्प्युटर, राउटर, स्विच तथा प्रोजेक्टरको व्यवस्था छ । विद्युत आपुर्ति नहुँदा ब्याट्री ब्याकअप तथा इन्टरनेटको पनि सुविधा रहेको छ । विद्यालयले आइतबार बाट सुरु गरेको वेभसाइटमार्फत सुचना, जानकारी, विद्यार्थी तथा शिक्षक पोर्टल देखि तथ्यांक व्यवस्थापन प्रणाली रहेको विद्यालयले जनाएको छ । कार्यक्रमको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मण शर्माले सञ्चालन गर्नुभएको थियो ।