सुशील सुवेदी
धार्मिक ऐतिहासिक तथा वैज्ञानिक महत्व बोकेको वृक्ष पिपल ।अझ त्यही पिपलमा ढुङ्गा छापेको चौपारी जिजुबाजेको पालामा संरक्षित थियो । मानव जीवनको उकाली ओरालीमा विश्राम गर्ने थलो हुन्थ्यो । घाँस दाउरा बोकेर आराम गर्ने होस् वा उमेर ढल्केका बुवा आमाले सुख दुख साटासाट गर्ने , यो चौपारीको विशेषता नै फरक छ ।
ढुङ्गा छापेर चौपारी बनाईन्थे , त्यहीँ मुनी ढुङ्गे धारा हुन्थ्यो । अग्रजको महत्वपुर्ण सामाजिक कार्य नै यही हुन्थ्यो । अहिले विकासको नाममा वन जंङ्गल फाँड्ने र चौपारी भत्काउने व्यक्ती नै सामाजिक अभियान्ता मानिन्छन् ।
बढ्दो शहरीकरणसँगै यस्ता चौपारीको महत्व र अस्तित्व ओझेलमा परेको छ । केही भएका चौपारीको संरक्षण हुन सेकेको छैन , बरु लागु औषध दुव्र्यसन र विसंङ्गति तर्फ उन्मुख कलिला युवा युवतीको आश्रय स्थल बनेको छ , यस्ता चौपारी ।
यस्तै प्रतिनिधि चौपारीको एक हो , वालिङ १० बिहारथोकमा अवस्थित बाँसकोटे चौपारी । सायद यस क्षेत्रमा बाँस घारी भएको कारण बाँसकोटे रहेको भन्ने बुझिन्छ ।
त्यहीँ पारि चिहाने चौपारी थियो । अग्रजको कथन अनुसार तत्कालिन समयमा मृत्यु भएका बच्चा बच्ची यही चौपारी मुनी गाड्ने एउटा चिहान थियो रे , त्यसैले यस चौपारीलाई चिहाने भनिएको रे ।
तर सिद्धार्थ राजमार्गको निर्माण र सरक्षणको अभावमा यसको अस्तित्व मेटियो । बाँसकोटे चौपारीलाई नै चिहाने भन्न थालियो र पछिल्लो पुस्ताले यस चौपारीलाई शितल चौतारी नामाकरण गरेका छन् ।
तत्कालिन बाइसे चौबिसे राज्य अन्तर्गत गह्रौँकोटे राजाले आराम ( बिहार ) गर्ने थलोको रुपमा लिईन्छ , यस क्षेत्रलाई । त्यसैकारणले यस गाउँको नाम नै बिहारथोक रहन गएको भन्ने बुझिन्छ ।
सयौँ वर्ष अगाडि बिहारथोकका सुवेदी अग्रजले लगाएको यो चौपारीको ऐतिहासिक मात्र होईन धार्मिक महत्व पनि बढ्दै गएको छ । सायद बढ्दो शहरीकरणकै कारण हुनुपर्छ टोल टोलमा भएका चौपारी मासिएका छन् । प्रत्येक शनिवार पुजा गर्ने महिला भक्तजनले भरिभराउ हुँदा , सबेरै ४ बजेदेखि शंङ्ख घण्टा बजाईन्छ । ति आवाजले पिपलको भावना झल्किएको छ र भनिएको छ ए मानवजाति. मलाई संरक्षण गर … म तिमीलाई संरक्षण गर्नेछु ।