सुशील सुवेदी
स्याङ्जा , असार ०२
स्याङ्जा ,गुल्मी र पर्वत जिल्लाको संगम स्थलमा पर्ने सेतीबेनी बजार डुबानको जोखिममा परेको छ । एकातिर सेती खोला र अर्को तिर कालीगण्डकीको उच्च जोखिममा रहेको सेतिबेनी बजारका ४८ घरधुरी त्रसीत अवस्थामा रहेका छन् ।अविरल वर्षाको कारण बुधबार १८ घरधुरी डुबानमा परेका छन् । त्यस्तै ८ घरधुरी पूर्ण रुपमा क्षति भएको छ । धार्मिक तथा पर्यटकिय हिसाबले पनि निकै लोकप्रिय मानिने विश्व विराट शालिग्राम शिला समेत डुबानमा परेको छ । यस्तै , पर्वत र स्याङ्जाको भुभागमा रहेको सेतीबेनी बजार क्षेत्रका बासिन्दा रातभरि सुत्न समेत पाएका छैनन् ।‘कतिखेर बाढी आउने हो थहा हुन्न । रातभरि आँखा झिमिक्क छैन । वर्षको ६ महिना त्रासमै बित्ने गर्दछ । घर डुबानमा पर्यो धन्नै ज्यान जोगियो , ’ स्थानीय केशब क्षेत्री बताए ।
क्षेत्री सहित केशब राज न्यौपाने , तेजराम काफ्ले , त्रिब्रिकम भेजु , ठाकुर प्रसाद श्रेष्ठ , रेशमराज न्यौपाने , लक्ष्मीपति न्यौपाने र गुरु ब क्षेत्रीको घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । सेतीबेनी चौकीका प्रहरी र स्थानीयवासीले डुबानमा परेको परीवारलाई उद्धार गर्यो ।
विगत १५ वर्षदेखि सेतीखोलामा पानीको वहाब मापन गर्दै आएका प्रदिप श्रेष्ठ भन्छन् ,‘१२ बर्ष यताकै उच्च विन्दुमा पानिको बहाव आएको छ । ६६ सालको भन्दा पनि यो बहाव ठुलो हो । ६ वटा घर डुबानकै कारण बगाएका छन् ।’
काली गण्डकी ‘ए’ जलविद्युत्त आयोजनाले डुबानबाट सेतीबेनीलाई बचाउन १४४ मेगावाटको उत्पादन बन्द गरेको छ । ३ वटा डाइभर्सन गेट खुलाएर उत्पादन शुन्यमा झारीएको कालीगण्डकी ‘ए’ जलविद्युत्त आयोजनाका प्रमुख पशुपती गौतमले बताए ।
अहिले कालीगण्डकी नदीमा पानीको बहाब ३७ सय क्यूसेक रहेको कालिगण्डकी ‘ए’ जलविद्युत्त आयोजनाका ड्याम ईन्चाज विश्व झाले जानकारी दिए । झा ले भने , ‘१६ वर्ष अगाडी पाँच हजार क्यूसेक पानीको बहाव आएको थियो , त्यसयता सबैभन्दा ठुलो आएको हो । हाम्रो आयोजनाको डिजाईन नै ६४ सय ६४ सय क्यूसेकको छ ।’